Butwal Today

ओलीको टिप्पणी : सरकारले मलाई र लेखकलाई थुन्नुलाई सुशासन ठान्दै छ

३० कार्तिक २०८२, आइतबार
अ+
अ-

काठमाडौं, ३० कात्तिक ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफू र रमेश लेखकलाई समात्नु नै सुशासन हो भन्ने सोच राखेको टिप्पणी गरेका छन् ।

आइतबार गुण्डुस्थित निवासमा प्रेस चौतारीका प्रतिनिधिहरूसँगको भेटघाटका क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

ओली र लेखकलाई गिरफ्तार गरेर थुन्नुलाई नै अहिलेको सरकारले सुशासन ठानिरहेको उनको भनाइ छ । त्यसका लागि जेनजीलाई संगठित गर्ने, उनीहरूको मागपत्र लेखिदिने, मागपत्र पढाउने, उनीहरूको हातमा मागपत्र दिने जस्ता काममा जेनजीलाई बोलाएर दबाब दिएको भन्ने भ्रम फैल्याउने काममा सरकार लागेको उनले बताए ।

उनले वर्तमान सरकारले कलाविहीन नाटक मञ्चन गरिरहेको पनि टिप्पणी गरेका छन् ।

उनले भने, ‘जेनजीहरूको मागपत्र हेरेको थिएँ, मागपत्र कसले ड्राफ्ट गरेको मलाई थाहा छ । कहाँ पढाइएको जेनजीलाई थाहा छ, को अर्गनाइजर भएको छ त्यो पनि थाहा छ । जे होस्, एउटा तमासा भयो ।

हामीले बिना पैसा यो असंवैधानिक सरकारको तमासा हेर्न पाएका छौं । नाटकमा अलिकति कला हुनुपर्छ । कलाविहीन नाटक छ, त्यो हेरिरहेका छौं ।’