© २०२३
काठमाडौं ।
निर्वाचन आयोगले कात्तिक ३० गतेसम्मका लागि तोकेको नयाँ दल दर्ताको समयावधि बढाएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, अब मंसिर ६ गतेसम्म पनि नयाँ दल दर्ताको निवेदन दिन सकिनेछ । यसअघि आयोगले कात्तिक ३० गतेसम्म नयाँ दल दर्ताका लागि निवेदन पेश गरी प्रमाणपत्र लिन भनेको थियो ।
त्यसैगरी, आयोगले मंसिर १ देखि ७ गतेसम्म आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सकिने व्यवस्था गरेको छ ।
भट्टराईले रातोपाटीसँग भने, ‘मंसिर १ गतेबाट निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय छ । नयाँ दल दर्ता गर्नेहरुले पनि मंसिर ६ गतेसम्म प्रक्रिया पुर्याएर निवेदन पेश गर्न सक्नेछन् र चुनावका लागि मंसिर ७ भित्र दर्ता हुनुपर्नेछ ।’
आयोगले आइतबारसम्म १२२ वटा राजनीतिक दल कायम रहेको जनाएको छ । प्रवक्ता भट्टराईका अनुसार, चुनाव घोषणा भएयता ७ वटा नयाँ दल दर्ता भएका र ७ वटा पुराना दल खारेज भएका छन् । थप २८ वटा दल दर्ता प्रक्रियामा रहेको छ । ती दलको सनाखत र कागजात जाँचको काम भइरहेको छ ।