Butwal Today

प्रसाईंको अभियानबाट जन्मियो नागरिक बचाउ दल, माधव खतिवडा अध्यक्ष

३० कार्तिक २०८२, आइतबार
अ+
अ-

काठमाडौं, ३० कात्तिक ।

दुर्गा प्रसाईंको समर्थनमा नयाँ दल गठन गरिएको छ । दल दर्ताका लागि निवेदन निर्वाचन आयोगमा बुझिसकिएको छ । आयोगमा दर्ता गरिएको निवेदनअनुसार दलको नेतृत्वमा माधव खतिवडा रहेका छन् ।

प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान सञ्चालन गर्दै आएका छन् । सोही अभियानको नामसँग मिल्दोजुल्दो नाममा दल गठन गरिएको हो ।

यो दलमा रहेका केन्द्रीय सदस्यहरू आइतबार सनाखतका लागि निर्वाचन आयोगमा उपस्थित भएका छन् ।

आज दल दर्ताको नियमित प्रक्रियाका लागि अन्तिम दिन हो । भोलिदेखि मंसिर १० गतेसम्म प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सकिनेछ ।

निर्वाचन आयोगले प्राप्त हुने निवेदनका कागजात पूरा–अपूर्ण भएको हेर्ने र कागजात पूरा भएमा दर्ता प्रक्रिया अघि बढाउने जनाएको छ । मंसिर १० गतेभित्र दल दर्ता प्रमाणपत्र पाएमा आगामी चुनावमा प्रतिस्पर्धा गर्न सकिनेछ ।

प्रतिनिधि सभाको चुनाव आगामी फागुन २१ गतेका लागि तोकिएको छ ।

दुर्गा प्रसाईं सरकारले अघि सारेका विभिन्न माग राखेर अभियान सञ्चालन गर्दै आएका छन् । सरकारले समेत उनलाई चुनावमा आएर आफ्ना माग जनताबाट अनुमोदन गराउन सुझाव दिँदै आएको छ ।

कात्तिक १४ गते प्रधानमन्त्री सुशीला कार्कीले सम्पादकहरूसँग गरेको छलफलमा झापामा पुराना नेताहरू कमजोर देखिएको र दुर्गा प्रसाईं उदाउन सक्ने सम्भावना भएको बताएकी थिइन् ।

यस्तै, कात्तिक २६ गते प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियानसँग सरकारले वार्ता गरेको थियो । सिंहदरबारमा भएको वार्तामा प्रसाईं पक्षले ७ मंसिरदेखि हुने आन्दोलनमा कुनै पनि हिंसात्मक गतिविधि नहुने स्पष्ट पारेका थिए । साथै, दल दर्ता गरेर चुनावमा जाने तयारी रहेको पनि बताएका थिए ।

आइतबार प्रसाईं समर्थित दलका नेताहरू सनाखतका लागि पुनः निर्वाचन आयोग पुगेका छन् ।