© २०२३
काठमान्डौ, ३० कार्तिक ।
नेपाल–भारत सीमा क्षेत्रमा आवतजावत गर्ने व्यक्तिहरूको अभिलेख राख्ने प्रस्ताव भारतले नेपाललाई गरेको छ । नयाँ दिल्लीमा सम्पन्न नवौँ सीमा सुरक्षा समन्वयात्मक बैठकमा भारतीय गृह मन्त्रालयका सचिव गोविन्द मोहनले उक्त प्रस्ताव अघि सारेका हुन् । तर नाकाबाट आवतजावत अभिलेखिकरण गर्ने यो सचिव-स्तरीय प्रस्तावमा दुवै पक्षबीच औपचारिक निर्णय भने हुन बाँकी छ ।
बैठक सकिएपछि सशस्त्र प्रहरी बलका आईजी राजु अर्यालसहितको नेपाली टोली स्वदेश फर्किएको छ । छलफलमा सहभागी एक अधिकारीका अनुसार भारतीय पक्षको प्रस्ताव नेपालका गृह मन्त्रालयका सचिवसँग छलफल गरी सहमति जुटाएपछि मात्र कार्यान्वयनमा जान सक्नेछ । उनले भने, “भारतीय गृह मन्त्रालयका सचिवले उठाएको विषयलाई हामी नेपाल सरकारका सचिवसँग राख्छौँ । यहाँबाट सहमति भएमा मात्र अभिलेख राख्ने प्रक्रिया अघि बढ्न सक्छ ।”
यसै बैठकका क्रममा सशस्त्र प्रहरी बलका आईजी अर्यालले सशस्त्र सीमा बल एसएसबीका महानिर्देशक सञ्जय सिंघलसँग जेनजी प्रदर्शनका क्रममा लुटिएका तथा जेलबाट फरार कैदी–बन्दी नियन्त्रणमा सहयोग गर्न अनुरोध गरेका थिए । जवाफमा महानिर्देशक सिंघलले लुटपाट तथा आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूको फोटोसहितको विवरण उपलब्ध गराए नेपाललाई आवश्यक सहयोग गर्न भारतीय पक्ष तयार रहेको बताएका छन् ।
उनका अनुसार जेलबाट फरार कैदी तथा सुरक्षाकर्मीबाट लुटिएका हतियार भारतका लागि पनि चुनौतीपूर्ण विषय बनेका छन् । नेपाल–भारतका अधिकारीबीच १२ बुँदे एजेन्डामा छलफल तथा सहमति भएको छ । दशगजामा बनेका अवैध संरचना हटाउने, विपद् व्यवस्थापन तथा तालिममा सहकार्य गर्ने विषयमा पनि सम्झौता भएको छलफलमा सहभागी एक वरिष्ठ अधिकृतले जानकारी दिए ।
कार्तिक २६ देखि २८ गतेसम्म चलेको समन्वयात्मक बैठकमा आईजी अर्याल, एआईजी गणेश ठाडा मगर, नेपाल प्रहरीका डीआईजी दीपक रेग्मी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक रामप्रसाद दास, सशस्त्र प्रहरीका एसएसपी किरण बस्नेत, गृह मन्त्रालयका उपसचिव रवीन्द्र आचार्य तथा परराष्ट्र मन्त्रालयका उपसचिव विजयराज तण्डुकारलगायतका अधिकारी सहभागी थिए ।