© २०२३
काठमान्डौ, ३० कार्तिक ।
काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालामा पहिलो चरणअन्तर्गत निर्माण सम्पन्न भएको प्यारापिट र फ्लडलाइट आज औपचारिक रूपमा नेपाल क्रिकेट संघ (क्यान) लाई हस्तान्तरण हुँदैछ ।
शहरी विकास मन्त्रालयअन्तर्गतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले नेपाल प्रिमियर लिग (एनपीएल) सञ्चालनका लागि आवश्यक संरचना क्यानलाई हस्तान्तरण गर्न लागेको हो ।
कार्यालयका सुपरिटेन्डेन्ट इन्जिनियर चक्रवती कण्ठका अनुसार रङ्गशालामा जडान गरिएका छवटै फ्लडलाइट आज साँझ परीक्षण स्वरूप बाल्ने तयारी गरिएको छ । फ्लडलाइट र प्यारापिटसहितको पहिलो चरणको संरचना प्रतियोगिता सञ्चालनका लागि उपयुक्त ठहरिएपछि क्यानलाई औपचारिक स्वीकृति दिइनेछ ।
इन्जिनियर कण्ठका अनुसार एनपीएल सम्पन्न भएपछि दोस्रो चरणको निर्माणकार्य पनि छिट्टै सुरु हुनेछ ।
भोलिदेखि त्रिवि क्रिकेट रङ्गशालामा सुरु हुने एनपीएलको दोस्रो संस्करणका लागि सम्पूर्ण तयारी पूरा भएको क्यानले जनाएको छ । यस संस्करणमा ३२ खेलमध्ये २३ खेल फ्लडलाइटअन्तर्गत रात्रीकालीन हुने खेलतालिका आयतबार नै सार्वजनिक गरिएको थियो ।
प्रतियोगितामा आठ टोलीबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ड्स र काठमाडौँ गोर्खाज आमनेसामने हुनेछन् । खेल दिउँसो ४ बजे सुरु हुनेछ ।