© २०२३
काठमान्डौ, ३० कार्तिक ।
नेपालका संस्थापक तथा जेनजी अभियानका अगुवा सुदन गुरुङले वैकल्पिक नागरिक शक्तिको आवश्यकता रहेको भन्दै देशभरका चर्चित तथा जनभावनामा टेकेका व्यक्तित्वहरूलाई एकै मञ्चमा उभिन आह्वान गरेका छन् । पार्टीप्रेमभन्दा देशप्रेम बढ्ता महत्वपूर्ण भएको उल्लेख गर्दै उनले सामाजिक सञ्जालमार्फत देशहितका लागि एकजुट हुन आग्रह गरेका हुन् ।
गुरुङले बालेन शाह, रवि लामिछाने, कुलमान घिसिङ, हर्क साम्पाङ, सुमना श्रेष्ठ, सागर ढकालसहित समाजमा सकारात्मक छवि बनाएका व्यक्तित्वहरूलाई एउटै प्लेटफर्ममा सहभागी हुन सार्वजनिक रूपमा आह्वान गरेका छन् । ‘हामी सम्पूर्ण नेपाली जनताको एउटै चाहना छ— तपाईंहरू सबै एकै ठाउँमा उभिनुहोस्,’ गुरुङले भनेका छन् ।
उनका अनुसार अभियानको पहिलो चरणमा जेनजी पुस्ता सातै प्रदेश, ७७ जिल्लादेखि स्थानीय तह र वडास्तरसम्म संगठित भइसकेको छ । अब सबै पुस्तालाई जोड्ने लक्ष्यसहित छिट्टै एक डिजिटल प्लेटफर्म सार्वजनिक गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।
गुरुङका अनुसार दोस्रो चरणमा जनताले विश्वास गरेका सबै जिम्मेवार तथा लोकप्रिय व्यक्तिहरूलाई एउटै ठाउँमा ल्याउने उद्देश्य राखिएको छ । गोरखाबाट सुरु भएको एकताको ऐतिहासिक यात्रालाई स्मरण गर्दै उनले यही गोरखा मन्दिरबाट आशीर्वाद लिएर अभियानको औपचारिक सुरुवात गरिने बताएका छन् ।