© २०२३
बुटवल, २७ कार्तिक ।
बुटवल उपमहानगरपालिका, नेपाल सरकार र लुम्बिनी फलफूल तरकारी व्यवसायीको संयुक्त लगानीमा स्थापना भएको बुटवल कृषि उपज थोक बजार केन्द्र लामो समय देखि विना टेन्डर सञ्चालनमा रहेको भन्दै अविलम्ब टेन्डर खोल्न माग सहित बुटवल उपमहानगरपालिकामा ज्ञापन बुझाइएको छ ।
अखिल नेपाल किसान महासङ्घ, किसान महासङ्घ लुम्बिनी प्रदेश, केन्द्रीय समिति सहित स्थानीयको संयुक्त टोलीले बुधवार बुटवल उपमहानगरपालिकामा नगर प्रमुख खेलराज पाण्डेयलाई ज्ञापन पत्र बुझाएको हो ।
अखिल नेपाल किसान महासङ्घका केन्द्रीय सदस्य ऋषव पोखरेल, किसान महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष रिता केसी, अखिल नेपाल किसान महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष महेन्द्र गिरी, जिल्ला अध्यक्ष कृष्ण खरेल, किसान महासङ्घ जिल्ला अध्यक्ष राजन क्षेत्री सहितको टोलीले ज्ञापन पत्र बुझाएको हो ।
सरकारी स्वामित्वमा सञ्चालन भइरहेको बुटवल थोक कृषि उपज सङ्कलन केन्द्र विकास समिति तरकारी तथा फलफूल बजारका सटरहरू मिति २०८१ भाद्र २३ गतेका सूचना प्रकाशित सूचना अनुसार सटरहरूको बोलपत्र आह्वान भएकोमा दर्ता भएका र अदालती प्रक्रियाबाट रोकिएकोमा २०८२/०७/२० गते जिल्ला अदालतबाट फुकुवा भएको र बोलपत्र खोल्ने सूचना २०७२/०७/२२ गते प्रकाशित भएको थियो ।
तर सोही दिन सुरक्षाको कारण देखाउँदै बजार व्यवस्थापकबाट टेन्डर रोकिएको छ ।
कुनै पनि निकायले शान्ति सुरक्षाको व्यवस्था नगरेको कारण देखाउँदै उक्त टेन्डर खोल्न नसकिएको भन्ने गैर जिम्मेवार जवाफ समितिले दिएको भन्दै सात दिनभित्र उक्त टेन्डर प्रक्रियाबाट २६७ जनाले हालेको बोलपत्र खुलाई किसानको लागि भनी छुट्टाइएका १०% सटरहरू किसानहरूको लागि वितरण गर्नुपर्ने माग सहित ज्ञापन पत्र बुझाएको अखिल नेपाल किसान महासङ्घ का केन्द्रीय सदस्य ऋषव पोखरेलले जानकारी दिए ।
यदि उक्त समयमा यो टेन्डर प्रक्रिया नखोलिएमा वा आलटाल गरेमा कडाभन्दा कडा सङ्घर्षमा जाने चेतावनीसहित उक्त आन्दोलनका क्रममा हुनसक्ने सम्पूर्ण घटना र क्षतिको जिम्मेवारी बुटवल उपमहानगरपालिका र स्थानीय प्रशासनले लिनुपर्ने चेतावनी समेत दिइएको उनको भनाई छ ।