Butwal Today

सेवा प्रभावकारी बनाउनुपर्ने केन्द्रमा कर्मचारी र कार्यालय अभाव

२५ कार्तिक २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ ।

सार्वजनिक निकायको सेवा प्रवाह प्रभावकारी बनाउन नियमन, अनुगमन र छड्के जाँच गर्ने राष्ट्रिय सतर्कता केन्द्र आफैं कर्मचारी अभाव र सानो कार्यालयको समस्यामा छ ।

सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको भुइँतलामा कार्यालय रहेको केन्द्रलाई कार्यालय सार्न मन्त्रालयले पटकपटक आग्रह गर्दै आएको छ । केन्द्रमा दरबन्दीअनुसार कर्मचारी पदपूर्ति नहुँदा कामकाज प्रभावित भएको छ ।

केन्द्रका प्रवक्ता एवं सहसचिव नारायण भट्टका अनुसार हाल १४७ दरबन्दीमध्ये करिब ३० प्रतिशत कर्मचारी रिक्त छन् । कामको प्रकृतिअनुसार अधिकांश कर्मचारी केन्द्रमा आउन नचाहने प्रवृत्ति देखिएको छ ।

केन्द्रको २३औँ प्रतिवेदनमा स्वीकृत दरबन्दी अनुसार प्रहरीतर्फ २४ कर्मचारी हुनुपर्नेमा १२ मात्रै र निजामतीतर्फ ९६ दरबन्दीमध्ये ७१ मात्रै कार्यरत रहेको छ । यसरी करिब ३१ प्रतिशत कर्मचारी पदपूर्ति हुन नसकेको प्रतिवेदनमा जनाइएको  छ।

केन्द्रले सेवा प्रवाह तथा विकास निर्माणमा गुणस्तरीय प्राविधिक परीक्षण पनि गर्दै आएको छ । भ्रष्टाचारजन्य कार्य न्यूनीकरण र जनचेतना अभिवृद्धि गर्न प्रधानमन्त्रीको प्रत्यक्ष रेखदेख तथा नियन्त्रणमा रहेर भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम केन्द्र स्थापना भएको हो ।

यसले भ्रष्टाचार नियन्त्रणका लागि सूचना सङ्कलन गर्ने, सतर्क गराउने, अनुगमन, निगरानी, छड्के जाँच र अन्वेषण गर्ने, राष्ट्रसेवक कर्मचारीको सम्पत्ति विवरण तथा आयको अनुगमन गर्ने, सम्बन्धित निकायलाई सुझाव तथा निर्देशन दिने जस्ता कार्य गर्दै आएको छ ।

“खासगरी प्राविधिक कर्मचारीको पदपूर्ति र टिकाउ दर झनै निराशाजनक छ । यसबाट केन्द्रको कार्य प्रभावकारितामा असर परेको महसुस गरिएको छ,” आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमा भनिएको छ ।

केन्द्रको कामको प्रकृतिअनुसार प्राविधिक कर्मचारी आवश्यक भए पनि त्यस्तो क्षेत्रका कर्मचारीको अभाव हुँदा काममा असर परेको प्रवक्ता भट्टले बताए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालले केन्द्रमा कर्मचारीको टिकाउ दर कम रहेको यथार्थका बीच दरबन्दीअनुसार कर्मचारी पदपूर्ति कसरी गर्न सकिन्छ भन्ने विषयमा गम्भीर रहेको बताए । उनले केन्द्रलाई अलग कार्यालय उपलब्ध गराउने विषयमा छलफल भएको जानकारी पनि दिए ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा शिक्षा मन्त्रालयको भवनमा आगजनी र क्षति पुगेको थियो। भुइँतलामा रहेको केन्द्रको कार्यालय र गाडी ध्वस्त भए। शिक्षा मन्त्रालय सिंहदरबारमा सञ्चालन हुन थालेसँगै केन्द्र क्रमशः काममा फर्किएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?