© २०२३
काठमाडौं, २१ कात्तिक ।
नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा मंसिर २४ गते विशेष महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत भएको छ । केन्द्रीय सदस्य मधु आचार्यले छोटो समयमा अधिवेशन सम्पन्न गर्न सक्ने गरी विशेष महाधिवेशनको मितिको प्रस्ताव बैठकमा पेश गरेका हुन् ।
शुक्रबारको बैठकमा आचार्यले भने, ‘नेपाली कांग्रेसको विधानको धारा १७ (२) अनुसार मंसिर २४ गते मंगला देवी सिंहको जन्म जयन्ती पर्छ । त्यस दिनबाट सुरु हुने गरी विशेष महाधिवेशन आयोजना गरौं ।’
सहमहामन्त्री महेन्द्र यादवले पनि बैठकमा महामन्त्रीलाई काउन्टर दिन महाधिवेशन कार्यतालिका ल्याएको प्रति संकेत गर्दै आफूले विशेष महाधिवेशनको प्रस्ताव प्रस्तुत गरेको बताए ।
यसअघि, ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएर विशेष महाधिवेशनको माग गरेका थिए । आचार्यले त्यसलाई आधार मान्दै विशेष महाधिवेशन गर्न सकिने बताए ।
उनले आगामी चुनावको तयारीलाई पहिलो प्राथमिकता दिनुपर्ने भन्दै छोटो समयमा अधिवेशन सम्पन्न गर्नु आवश्यक रहेको पनि बताए । आचार्यले भने, ‘चुनावको नजिकै छौं । धेरै साथीहरूको बीचमा घर्षण वा प्रतिष्ठा स्पर्धा पैदा गरेर जानु उचित होइन । चुनावका तयारीका लागि पर्याप्त समय दिनु र चुनावलाई पहिलो प्राथमिकता बनाएर अघि बढ्नु आवश्यक छ ।’