Butwal Today

पुसको तेस्रो साता महाधिवेशन गर्नुपर्ने शेखर कोइरालाको प्रस्ताव

२१ कार्तिक २०८२, शुक्रबार
अ+
अ-

काठमान्डौ, २१ कार्तिक ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी निर्वाचनअघि पार्टीको नेतृत्व नियमित महाधिवेशनमार्फत् परिवर्तन हुनुपर्ने विचार व्यक्त गरेका छन् ।

शुक्रबार बिहान विशाल नगरस्थित आफ्नै सम्पर्क कार्यालयमा उपत्यकाका आफूनिकट जिल्ला सभापतिहरूसँगको छलफलमा कोइरालाले यस्तो प्रस्ताव राखेका हुन् । उनले समानुपातिकतर्फको बन्दसूची पुसको २५ गते बुझाइसकेपछि महाधिवेशन गर्न सकिने सम्भावना औँल्याए ।

छलफलमा सहभागी एक जिल्ला सभापतिले बताए, “मेरो पहिलो माग निर्वाचनअघि नियमित महाधिवेशनले नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने हो । महामन्त्रीले प्रस्ताव गरेको कार्यतालिका एक साता सारेर पुसको २५ मा समानुपातिक लिस्ट बुझाइसकेपछि महाधिवेशन गर्न सकिन्छ ।”

कोइरालाले २१ फागुनमा हुन लागेको निर्वाचनमा नयाँ नेतृत्वसहित जानुपर्ने कुरामा आफू स्पष्ट रहेको पनि बताएका छन् । साथै, नियमित वा विशेष महाधिवेशन गर्ने निर्णय जारी केन्द्रीय कार्यसमितिले गर्नुपर्ने बताएका छन् । उनले भने, “नियमित महाधिवेशन नभए १७(२) अनुसार विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षर बाध्यकारी हुन्छ। यसको कार्यान्वयन केन्द्रीय समितिले गर्नुपर्छ ।”

पार्टीभित्रको वर्तमान संकट समाधान गर्न सबै नेतासँग छलफल गर्ने र पार्टीलाई एकजुट बनाएर लैजान आफू सक्रिय भूमिका खेल्ने कोइरालाले बताए । उनले थपे, “मभन्दा सिनियर नेता शेरबहादुरजीसहित सबैसँग संवाद गर्छु । पार्टीलाई मिलाएर लैजानुछ । म बोलचाल बन्द गर्दिनँ र व्यक्तिगत रिसका कारण कदम चाल्दिनँ । उमेर र अनुभव भएका सबैसँग संवाद गर्छु, ताकि निर्वाचनअघि नयाँ नेतृत्व ल्याउन सकियोस् ।”

छलफलमा रूपन्देही, चितवन, खोटाङ, नुवाकोट, धादिङका जिल्ला सभापतिहरू, केही पूर्वजिल्ला सभापतिहरू, प्रदेश कार्यसमितिका पदाधिकारीहरू, साथै केन्द्रीय सदस्य टेकप्रसाद गुरूङ र डा. गोविन्दराज पोखरेल सहभागी भएका थिए ।