© २०२३
काठमान्डौ, २१ कार्तिक ।
नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, माओवादी केन्द्र परित्याग गरेका जनार्दन शर्मा र नेकपा एकीकृत समाजवादी छोडेका घनश्याम भूसालले राजनीतिक सहकार्य गर्ने निर्णय गरेका छन् ।
शुक्रबार बिहान हरिसिद्धीस्थित विप्लव निवासमा भएको भेटपछि तीन नेताबीच मुलुकको वर्तमान राजनीतिक अन्योल समाधान गर्ने उद्देश्यसहित सहकार्यको सहमति बनेको हो । शर्मा र भूसाल बिहानै विप्लवको निवास पुगेका थिए । सो अवसरमा उनीहरूले देशको पछिल्लो राजनीतिक अवस्था, वाम शक्तिबीच सहकार्यको आवश्यकता र भावी रणनीतिबारे विस्तृत छलफल गरेका थिए ।
भेटपछि नेता घनश्याम भूसालले भने, “हामी सहकार्यमा छौं । मुलुकको आवश्यकता अनुसार सहकार्यलाई विस्तार र घनिभूत बनाउने दिशामा छलफल भइरहेको छ। राजनीतिक अन्योललाई सम्बोधन गर्नेगरी सहकार्यलाई विकसित गर्दै जानेछौं ।” उनले सहकार्यलाई ‘एकता’सँग भ्रमित नगरिन आग्रह गर्दै थपे, “हामी एकताबद्ध भएर अघि बढ्नेछौं, तर यसलाई संगठनात्मक एकीकरण ठान्ने भ्रम नपरोस् ।”
भूसालका अनुसार विगतमा पनि उनीहरूबीच सहकार्यको प्रयास रहेको थियो, जुन केही कमजोर बनेको थियो । “विगतमा पनि हाम्रो सहकार्य थियो, तर त्यो पातलो बनेको थियो । अब त्यसको पुनरावलोकन गरी थप सशक्त बनाउनेछौं,” उनले स्पष्ट पारे । तीन नेताबीचको छलफलका निष्कर्ष समेटेर आजै संयुक्त विज्ञप्ति जारी गरिने तयारी गरिएको छ ।
हाल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच एकता प्रक्रियाले गति लिँदै गर्दा शर्मा र भूसालले भने अलग अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् । शर्मा ‘प्रगतिशील अभियान नेपाल’का नामबाट युवा एकीकरणको अभियान चलाइरहेका छन् भने भूसालले एकीकृत समाजवादीमा एकतामा नगएका वामपन्थीहरूलाई एकत्रित गर्दै नयाँ राजनीतिक अभियान अगाडि बढाउने तयारी गरेका छन् ।
विप्लवले शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा अन्तरिम सरकार निर्माण लगायतको मागसहित र्याली र जनसभा गरेका थिए । सभामार्फत् उनले सच्चा कम्युनिष्ट पार्टीहरूबीच एकता आवश्यक रहेको बताएका थिए ।