© २०२३
काठमान्डौ, २१ कार्तिक ।
जेन–जी आन्दोलनका क्रममा पोखराको वरपिपल रिसोर्टमा तोडफोड र आगजनी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१७ घारीपाटनका २९ वर्षीय रुपक नेपाली, पोखरा–१८ का ४२ वर्षीय खड्कबहादुर थापा, ३२ वर्षीय खुमराज गुरुङ, ४७ वर्षीय नवराज खड्का र २७ वर्षीय एलिसा गुरुङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) नवीन कार्कीका अनुसार उनीहरूविरुद्ध आपराधिक उपद्रवसम्बन्धी अभियोगमा अनुसन्धान अगाडि बढाइएको छ । उनले पक्राउ परेकाहरू जेन–जी आन्दोलनका औपचारिक अभियानकर्ता नभएको स्पष्ट पारे ।
प्रहरीका अनुसार रुपक नेपालीले सो रिसोर्टमा तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ (हाल नेपाली कम्युनिष्ट पार्टीका संयोजक) को लगानी रहेको भनी भीडलाई उक्साएर तोडफोड तथा आगजनी गराएको प्रमाण भेटिएको छ । अनुसन्धानका क्रममा उनले पोखरा रंगशालामा प्रशिक्षणसमेत दिने गरेको तथ्य फेला परेको प्रहरीले जनाएको छ ।
रिसोर्ट लमजुङका जितु नामक व्यक्तिको स्वामित्वमा रहेको खुलेको छ । पक्राउ परेका खड्कबहादुर थापा पोखरा–१८ का होटल व्यवसायी हुन् । उनले ‘केबीटी ट्राभल्स’ नामक सामाजिक सञ्जाल पेजमार्फत विभिन्न स्थानका फोटो र भिडियोहरू नियमित रूपमा सार्वजनिक गर्दै आएका थिए ।
प्रहरीका अनुसार आन्दोलनको दिन रिसोर्टमा कार्यरत केही व्यक्तिहरू पनि तोडफोड र आगजनीमा संलग्न भएको पुष्टि भएको छ । हाल घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।