© २०२३
काठमान्डौ, २० कार्तिक ।
जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालप्रति आक्रोश पोखेका छन् । गुरुङले सामाजिक सञ्जालमार्फत धारणा व्यक्त गर्दै अर्याललाई ‘अलोकप्रिय’ बताएका छन् ।
आन्दोलनको क्रममा दमनकारीहरूलाई कारबाही नगरेको विषयमा रुष्ट गुरुङले भनेका छन्, “तपाईंले जनताको भरोसा पूरा गर्न सक्नुभएको छैन । देशभरबाट ‘हत्यारालाई कारबाही गर’, ‘भ्रष्टाचारीलाई कारबाही गर’ भन्ने आवाज उठ्दा, ‘जेनजीलाई कारबाही गर’ सुन्ने गृह मन्त्रीको पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान हो । शहीदको रगत सम्झनुहोस् । नेपाल र नेपालीको आशा र आँसु सम्झनुहोस् ।”
गुरुङले गृहमन्त्री अर्यालसँग आशा समाप्त भएको स्पष्ट पारेका छन् । उनले जेनजी आन्दोलन २०८४ को चुनाव २०८२ मा सार्नका लागि नभएको र यसपालिको चुनावमा मागहरू सम्बोधन नहुने हो भने निर्वाचन हुन नदिने चेतावनी दिएका छन् ।
गुरुङले थप भनेका छन्, “चुनावको नाटक नचलोस् । ८४ को चुनाव ८२ मा सार्नलाई गरिएको आन्दोलन होइन यो । नेपाली जनता र जेनजीका मागहरू सम्बोधन हुँदैन भने यसपालिको चुनाव हुन दिइने छैन ।”
प्रधानमन्त्री सुशीला कार्कीको प्रिय पात्र बनेर गृहमन्त्री पदमा बस्ने प्रयास गर्ने अर्याललाई उनले चेतावनी दिँदै, अझै पनि गृहमन्त्रीको पदमा टाँसेर जुका जस्तो बस्नुहुन्छ भने दुई दिनपछिको प्रेस कन्फ्रेन्सले तपाईंको भविष्य निर्धारण गर्नेछ । प्रधानमन्त्रीको प्रिय पात्रो भनेर कुर्ची बच्छ भनेर सोच्नुहुन्छ भने यो तपाईंको भ्रम हो,’ गुरुङले भने ।