Butwal Today

प्रदर्शनमा उत्रिएका खेलाडीहरूले गेटमै मेडल झुन्ड्याए

२० कार्तिक २०८२, बिहीबार
अ+
अ-

काठमान्डौ, २० कार्तिक । 

अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय अगाडि प्रदर्शनमा उत्रिएका खेलाडीहरूले गेटमै मेडल झुन्ड्याएर विरोध जनाएका छन् ।

नेपाल फुटबल खेलाडी संघको आयोजनामा सातदोबाटोस्थित एन्फा मुख्यालय पुगेका खेलाडीहरूले ए डिभिजन लिग यस वर्ष नगरी अर्को वर्ष मात्र सञ्चालन गर्ने निर्णयविरुद्ध आपत्ति जनाएका हुन् ।

खेलाडी संघका अध्यक्ष विक्रम लामाले मेडल त्यहीँ छोडेर जाने बताएका छन् । उनले भने, “अब यो मेडल एन्फाले आफैँ आएर लाओस् । हामी यही छोडेर जान्छौं ।”

खेल्न पाउने आफ्नो आधारभूत हकका लागि सडकमा आउन बाध्य भएको संघले जनाएको छ । पटकपटक लिग स्थगित नगर्न अनुरोध गर्दा पनि बेवास्ता भएपछि उनीहरू प्रदर्शनमा उत्रनु परेको हो ।

एन्फाले यसअघि निर्णय गर्दै यस वर्ष पुसमा राष्ट्रिय लिग आयोजना गर्ने र ए डिभिजन लिग अर्को वर्ष पुसमा मात्र सुरु गर्ने जानकारी दिएको थियो ।