© २०२३
काठमान्डौ, १९ कार्तिक ।
नेपाली कम्युनिस्ट पार्टीको बुधबार हुने औपचारिक घोषणा अनुसार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई पार्टीमा तेस्रो वरियता दिइएको छ ।
बुधबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित शीर्ष नेताहरूबीच गरिएको छलफलमा खनाललाई तेस्रो वरियतामा राख्ने सहमति भएको स्रोतले जनाएको छ । यसअघि बामदेव गौतमलाई तेस्रो वरियतामा राखिएको थियो। विभिन्न घटकबीच हुन लागेको एकताप्रति खनालले असन्तुष्टि व्यक्त गरेका थिए ।
अन्ततः उनी भृकुटीमण्डपमा आयोजित घोषणा सभामा उपस्थित भए । एकता वार्तामा सहभागी एक नेताका अनुसार, बुधबार बिहान भएको अन्तिम छलफलमा खनाल तेस्रो वरियतामा बसेर नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन सहमत भएका हुन् ।
पार्टीमा प्रचण्ड पहिलो, माधव कुमार नेपाल दोस्रो, झलनाथ खनाल तेस्रो, बामदेव गौतम चौथो र नारायणकाजी श्रेष्ठ पाँचौं वरियतामा रहने भएका छन् ।
खनालले हिजोमात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरी पार्टी निर्णयमा प्रारम्भमा आपत्ति जनाएका थिए । यद्यपि अन्ततः उनले प्रचण्ड–माधव समूहतर्फ झुक्दै पार्टी पुनर्गठन प्रक्रियामा सहभागी हुने निर्णय गरेका छन् ।