© 2026
काठमान्डौ, २९ कार्तिक ।
नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले पार्टीभित्र कमजोर र ओरालो लागेकाहरूको एकताले मुलुकलाई समाधानमा पुर्याउन नसक्ने स्पष्ट बताएका छन् ।
बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा भूसालले पछिल्लो पटक नेकपा माओवादी केन्द्रसहित गरिने भनिएको एकताप्रति आपत्ति जनाउँदै, “संकटमोचन गर्ने फर्मुला जुन तयार गरिएको छ, गलत छ । कमज़ोर र ओरालो लागेकाहरूको एकताले उकालो लागिन्छ भन्ने भाष्य बनाउँदा समस्या समाधान हुँदैन, जो आफैं ओरालो हिँडिरहेका छन्, त्यसले निकास दिन सक्दैन,” भने ।
उनले एमालेबाट अलग भएर एकीकृत समाजवादी बनेको बेला पार्टीले समाजवादको जिम्मेवारी आफूहरूले लिएको स्मरण गर्दै, अहिले त्यो उद्देश्य कहाँ पुगेको हो भन्ने प्रश्न उठाए । “नेकपा एकीकृत समाजवादी नेकपा एमालेबाट छुट्टिएको थियो । विभाजनका बेला समयले हाम्रो काँधमा समाजवादको जिम्मेवारी दियो । त्यो के भयो ? हामीले पुनर्गठन र रुपान्तरणमा के गर्यौं, नगरेको कुरा किन नजरअन्दाज गर्दै फेरि त्यहाँ जानुपर्ने ?” भूसालले प्रश्न गरे ।
भूसालले जारी एकताले जनतालाई भ्रममा पार्ने मात्र हुने र वास्तविक समाधान दिन नसक्ने चेतावनी पनि दिए । “एकताका लागि तयार पारिएको दस्तावेज हेरेँ, पढेँ । मुलुकमा आएको यत्रो दबाब र परिवर्तनलाई सामान्य रूपमा समेत ख्याल नगरी तयार पारिएको यो एकता, जनतालाई झुक्याउने, झुट बोल्ने मात्रै काम गर्नेछ,” उनले स्पष्ट पारे ।