© २०२३
काठमान्डौ, १८ कार्तिक ।
नेकपा माओवादी केन्द्रसहित ९ वामपन्थी दलबीचको एकता घोषणा बुधबार बिहान ११ बजे हुने भएको छ । माओवादी केन्द्रका नेता अग्नि सापकोटाका अनुसार एकताका लागि यसअघि सहमति पत्रमा हस्ताक्षर गरेका दलहरूबीच काठमाडौँको भृकुटीमण्डपमा संयुक्त रूपमा एकता घोषणा गरिनेछ ।
सापकोटाले एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहने जानकारी दिएका छन् । उनका अनुसार नयाँ पार्टीले जनताको अपेक्षा र देशको आवश्यकता अनुसार नीतिगत दिशा तय गर्दै कार्ययोजना अघि बढाउनेछ ।
“हामीले विगतका सबै उतार–चढाव, घुम्ती र मोड पार गर्दै देशलाई समृद्धितर्फ लैजाने विश्वास गरेका छौँ,” सापकोटाले मंगलबार बसेको माओवादी केन्द्रको अन्तिम बैठकपछि सञ्चारकर्मीहरूसँग भने ।
उनले तत्कालका लागि माओवाद सिद्धान्त औपचारिक रूपमा नलागु भए पनि माओका योगदान र सैद्धान्तिक मूल्यबारे गहिरो छलफल हुँदै पुनर्स्थापना सम्भव रहने स्पष्ट पारे ।