© २०२३
काठमान्डौ, १८ कार्तिक ।
२३ र २४ भदौका घटनाको छानबिन गर्न गठन गरिएको उच्चस्तरीय जाँचबुझ आयोगलाई प्रहरी प्रधान कार्यालयले सबै प्रहरी फिल्डमै रहेको जवाफ पठाएको छ ।
विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गरिएको थियो । आयोगले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखेर ती दुई दिनमा फिल्डमा खटिएका प्रहरी अधिकारी, इन्चार्ज तथा जवानहरूको विवरण मागेको थियो ।
लामो समयसम्म हेडक्वार्टरले जवाफ नपठाएपछि आयोगले बारम्बार ताकेता गरेको थियो । स्रोतका अनुसार, त्यसपछि प्रहरी प्रधान कार्यालयले आईजीपीदेखि जवानसम्म सबै फिल्डमै रहेको जवाफ पठाएको हो ।
प्रहरी प्रधान कार्यालयका स्रोतले भने, “घटनाको दिन सबै जना फिल्डमै रहेको भनेर जवाफ पठाइएको छ ।”
स्रोतका अनुसार, आईजीपी चन्द्रकुवेर खापुङले पनि सबै जिल्लामा प्रदर्शन भएको र कुनै एक प्रहरीलाई दोष देखाउन नमिल्ने भन्दै यही जवाफ पठाउन निर्देशन दिएका थिए ।
त्यसपछि आयोगले आईजीपी खापुङको नाममा अर्को पत्र पठाउँदै २४ घण्टाभित्र आवश्यक विवरण पठाउन निर्देशन दिएको थियो । अन्ततः १६ कात्तिकमा प्रहरी हेडक्वार्टरले काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई पत्र लेखेर घटनाका बेला इन्चार्ज रहेका व्यक्तिहरू उपत्यका नछोड्न निर्देशन दिएको थियो ।
अहिले अर्को जवाफ आयोगलाई पठाइसकेको हेडक्वार्टर स्रोतले बतायो ।