© २०२३
काठमान्डौ, १८ कार्तिक ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका संस्थापन नेताहरूसँग विशेष महाधिवेशन नगर्ने स्पष्ट निर्देशन दिएका छन् ।
विशेष महाधिवेशनको माग गर्दै दुई हजार ४८८ महाधिवेशन प्रतिनिधिले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षरसहित पत्र बुझाएका थिए । तर, देउवाले उक्त पत्र कार्यान्वयन नगरी नियमित महाधिवेशनको वातावरण सिर्जना गर्न संस्थापन नेताहरुलाई निर्देशन दिएका छन् ।
गत आइतबारको केन्द्रीय कार्यसमितिको बैठक नियमित महाधिवेशन कहिले गर्ने भन्ने विवादका कारण स्थगित भएको थियो । त्यसपछिको संस्थापन पक्षीय अनौपचारिक बैठकमा देउवाले सिंगापुरबाटै खड्कासहित अन्य पदाधिकारीलाई विशेष महाधिवेशन नगरी नियमित महाधिवेशनको वातावरण बनाउन निर्देशन दिएका हुन् ।
कार्यवाहक सभापति खड्काका अनुसार, “सभापति देउवाले विशेष महाधिवेशन नगर्नुहोस् र नियमित महाधिवेशनमा सहमतिको प्रयास गरौँ भन्ने धारणा राख्नुभएको छ ।” त्यस्तै, सहमहामन्त्री किशोरसिंह राठोरले पनि सिंगापुरबाट फोनमार्फत विशेष महाधिवेशन नगर्न आग्रह गरेका थिए ।
देउवा र उनकी पत्नी डा. आरजु राणा देउवा भदौ २४ मा बुढानीलकण्ठस्थित निवासमा गम्भीर घाइते भएपछि करिब एक महिना सैनिक अस्पतालमा उपचार गराएका थिए । असोज २८ मा पार्टी कार्यालयको केन्द्रीय समिति बैठकमा सार्वजनिक रूपमा उपस्थित हुँदै देउवाले उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पेका थिए ।
पार्टीको केन्द्रीय समिति बैठक अहिले खड्काको सभापतित्वमा जारी छ । बैठकमा नियमित महाधिवेशन कहिले गर्ने र विशेष महाधिवेशन गर्ने भन्ने विषयमा विवाद कायमै छ । संस्थापन पक्षले फागुन २१ का प्रतिनिधिसभा निर्वाचनपछि वैशाखमा नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव अघि सारेको छ ।
सोमबार राजधानीमा बसेको संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको बैठकले वैशाख २५ देखि २८ गतेसम्म १५औँ महाधिवेशन गर्ने निर्णय गरेको छ । अर्कोतर्फ, डा. शेखर कोइराला नेतृत्वको समूह र महामन्त्री गगन थापा तथा विश्वप्रकाश शर्माले मंसिरभित्र नियमित महाधिवेशन गर्नुपर्ने बताइरहेका छन् ।
विवाद मिल्न नसक्दा महामन्त्री शर्माले पुस १६ देखि १९ गतेसम्म नियमित महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका थिए, तर त्यसमा पनि सहमति जुट्न सकेको छैन ।