© २०२३
काठमाडौँ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका युवा कार्यकर्ताहरूले नियमित महाधिवेशनको वातावरण निर्माण गर्न नसक्ने कार्यवाहक सभापतिसहितका पदाधिकारीहरूले तत्काल नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरेका छन् ।
मङ्सिरमा पार्टीको १५ औँ महाधिवेशनको मिति तोक्न माग गर्दै आइतबार केन्द्रीय कार्यालयको मूल गेटमा तालाबन्दी गरेका ४० वर्ष मुनिका युवा कार्यकर्ताहरूले क्रियाशील सदस्यता नवीकरण र वितरणको काम गर्न नसक्ने महामन्त्री गगन थापाले तत्काल राजीनामा दिनुपर्ने माग राखेका छन् । तालाबन्दीको नेतृत्व गरेका युवा नेता शिव रिमालले जानकारी दिए ।
रिमालले रातोपाटीसँग भने, “मङ्सिरमा नियमित महाधिवेशनको वातावरण निर्माण गर्न नसक्ने पदाधिकारी र क्रियाशील सदस्यता वितरण र नवीकरणका लागि जिम्मेवारी पूरा नगर्ने महामन्त्री गगन थापाले राजीनामा दिनुपर्छ । हाम्रो माग पूरा नहुँदासम्म तालाबन्दी खुल्ने छैन ।”
उनीहरूले १५ औँ महाधिवेशनको कार्यतालिका तत्काल सार्वजनिक गर्न, ४० वर्ष मुनिका युवाहरूको पार्टीका हरेक निकायमा ४० प्रतिशत हिस्सा सुनिश्चित गर्न, र क्रियाशील सदस्यता वितरण एवं नवीकरणको प्रगति विवरण सार्वजनिक गरी पार्टीको वेबसाइटमा राख्नुपर्ने माग पनि राखेका छन्, अर्को युवा नेता भुवन भट्टले जानकारी दिए ।