Butwal Today

तोसिमा भन्छिन्: जेनजी क्रान्तिलाई तेस्रो जनआन्दोलनको रूपमा वैधानिकता दिनुपर्छ

१५ कार्तिक २०८२, शनिबार
अ+
अ-

काठमान्डौ, १५ कार्तिक ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  की नेतृ डा। तोसिमा कार्कीले हालै भएको ‘जेनजी क्रान्ति’ लाई नेपालको तेस्रो जनआन्दोलनका रूपमा वैधानिक मान्यता दिनुपर्ने स्पष्ट धारणा व्यक्त गरेकी छन् ।

शनिबार सार्वजनिक गरिएको वक्तव्यमा उनले भदौ २३ गतेको शान्तिपूर्ण विद्रोहले देशमा सुसंस्कृत राजनीति, सुशासन र उत्तरदायित्वपूर्ण शासन व्यवस्थाको आवश्यकता उजागर गरेको बताइन् । उनका अनुसार, “त्यो दिनको जनअभिव्यक्तिले परिवर्तनको नयाँ दिशा देखाएको छ, जसलाई संस्थागत गर्नु आजको ऐतिहासिक जिम्मेवारी हो ।”

तर, उनले भदौ २४ गते देखिएका तोडफोड, आगजनी र हिंसात्मक घटनाको दोष कुनै पनि बहानामा सम्पूर्ण जेनजी पुस्तामाथि थोपर्न नहुने बताइन् । उनका शब्दमा, “कसैको अपराध वा उत्तेजनाको कारणले एउटा पुस्ताको आदर्श र अभिव्यक्तिलाई कलंकित पार्नु न्यायसंगत हुँदैन ।”

डा। कार्कीले भदौ २३ गते सरकारले प्रदर्शनकर्तामाथि देखाएको ‘आपराधिक र अक्षम्य चरित्र’ को तत्काल छानबिन गरी दोषीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेकी छन् ।

त्यससँगै उनले आन्दोलनका क्रममा घाइते भएका नागरिक र सहिद परिवारहरूको जीवन र सम्मानप्रति राज्यले अभिभावकत्व र जिम्मेवारी ग्रहण गर्नुपर्नेमा जोड दिएकी छन् ।

उनका अनुसार, “जनतामाथिको अन्याय, असमानता र दमनको विरुद्धमा उठेको यो आन्दोलनलाई वैधानिक र ऐतिहासिक रूपमा स्वीकृति नदिँदा लोकतान्त्रिक यात्रा अधुरो रहन्छ ।”