Butwal Today

विश्वकप लिग-२ : नेपालले अमेरिकाविरुद्ध पहिले ब्याटिङ गर्ने

१५ कार्तिक २०८२, शनिबार
अ+
अ-

काठमान्डौ, १५ कार्तिक ।

आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत नेपाल आज शनिबार शीर्ष स्थानमा रहेको अमेरिकासँग प्रतिस्पर्धा गर्दै छ । दुबईस्थित आईसीसीए मैदानमा हुने खेलमा अमेरिकाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ, जसअनुसार नेपालले ब्याटिङबाट खेल सुरु गर्ने भएको छ ।

खेल नेपाली समयअनुसार बिहान ११ :१५ बजे प्रारम्भ हुनेछ । अंकतालिकामा आफ्नो स्थिति सुधार गर्न यो खेल नेपालका लागि अत्यन्तै महत्वपूर्ण मानिएको छ ।

हालसम्म लिग–२ अन्तर्गत २२ खेल खेलेको अमेरिकाले १६ जित र ६ हारसहित ३२ अंक जोड्दै शीर्ष स्थान कायम राखेको छ । अमेरिकाले पछिल्ला पाँच खेलमध्ये चारमा विजय हासिल गर्दै उत्कृष्ट लय कायम राखेको छ ।

नेपालको प्रदर्शन भने केही उतारचढावपूर्ण रहँदै आएको छ । पछिल्ला पाँच खेलमध्ये दुईमा नेपालले जित निकालेको छ भने तीन खेलमा हार व्यहोरेको छ ।