© २०२३
काठमान्डौ, १४ कार्तिक ।
१८ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले बञ्चरेडाँडामा फोहोर विसर्जन रोकिदिएपछि सरकारले समस्या समाधानका लागि पहल थालेको छ ।
सहरी विकास मन्त्रालयले शुक्रबार प्रभावित क्षेत्रका सरोकारवालासँग छलफल गर्ने भएको हो । मन्त्रालयले धुनीवेशी नगरपालिका र ककनी गाउँपालिकाका प्रमुख, वडाध्यक्ष तथा अन्य जनप्रतिनिधिलाई छलफलका लागि आमन्त्रण गरेको छ ।
मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर महेशबहादुर सिंहले पठाएको पत्रमा प्रतिनिधिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।
‘‘सो सम्बन्धमा छलफल गर्न तपसिल बमोजिमको मिति, समय र स्थानमा बैठक बस्ने भएको हुँदा उक्त बैठकमा तहाँ नगरपालिका, सम्बन्धित वडा र सरोकारवाल समेतको प्रतिनिधिको उपस्थितिका लागि निर्देशानुसार अनुरोध छ,’ पत्रमा भनिएको छ ।
प्रभावित क्षेत्रका स्थानीय अगुवा नीराजन सञ्जेलले मन्त्रालयले छलफलका लागि बोलाएको पुष्टि गर्दै भने,“हामी बैठकमा सहभागी हुँदैछौं । सबै पक्षबीचको छलफलले समस्या समाधानमा सहयोग पुर्याउने विश्वास लिएका छौं ।”
बुधबारदेखि स्थानीयवासीहरूले काठमाडौं महानगरपालिकाको फोहोर बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फाल्न दिएका गाडी रोक्दै फर्काइरहेका छन् । ककनी गाउँपालिका–१ र २ तथा धुनीवेशी नगरपालिका–१, २ र ३ का स्थानीयहरू दुई जिल्लाको सङ्गम ढाँडेस्थित सडकमा अवरोध गर्दै आएका हुन् ।
काठमाडौं उपत्यकाको फोहोर नुवाकोटको धुनीवेशी नगरपालिका–१, बञ्चरेकुण्डुले ल्याण्डफिल साइटमा विसर्जन हुँदै आएको छ । तर, २०७९ जेठ २६ मा भएको १८ बुँदे सहमति पालना नभएको भन्दै स्थानीयले पुनः आन्दोलन थालेका छन् ।
सहमतिमा फोहोर रातको समयमा मात्र विसर्जन गर्ने, दुर्गन्ध नआउने व्यवस्था मिलाउने, लिच्चड नचुहिने, र वैज्ञानिक व्यवस्थापन सुनिश्चित गर्ने लगायतका प्रावधान थिए। तर ती प्रतिबद्धता कार्यान्वयन नभएको स्थानीयको गुनासो छ ।
फोहोर व्यवस्थापन नहुँदा दुर्गन्ध फैलिँदै सरुवाजन्य रोगको जोखिम बढेको र स्थानीय जनजीवन प्रभावित भएको उनीहरूको भनाइ छ । सहमति कार्यान्वयन माग्दै पटक–पटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरिएको र केही अगुवा स्थानीयमाथि काठमाडौं महानगरले सार्वजनिक मुद्दा दायर गरेको भन्दै उनीहरू आक्रोशित छन् । स्थानीयहरूले मुद्दा फिर्ता लिने र सहमति कार्यान्वयन सुरु गर्ने माग अघि सारेका छन् ।
यसअघि गत असोज २६ गते उनीहरूले भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङलाई भेटी समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका थिए । स्थानीयको भनाइमा, ल्यान्डफिल साइटको निर्माण अधुरो रहँदै फोहोर विसर्जन गरिँदा प्रभावित क्षेत्र थप संकटमा परेको छ ।