Butwal Today

नागरिक उड्डयन प्राधिकरणद्वारा हेलिकप्टर उडानमा नयाँ नियम

१४ कार्तिक २०८२, शुक्रबार
अ+
अ-

काठमान्डौ, १४ कार्तिक ।

बुधबार अल्टिच्युड एयरको ‘नाइनएन–एएमएस’ हेलिकप्टर सोलुखुम्बु, लोबुचेमा दुर्घटनाग्रस्त भएपछि, नागरिक उड्डयन प्राधिकरणले सबै हेलिकप्टर कम्पनीहरूका लागि नयाँ सुरक्षा निर्देशन जारी गरेको छ ।

निर्देशनअनुसार, एयर डाइनेष्टी, अल्टिच्युड एयर, अन्नपूर्ण हेलिकप्टर, फिष्टेल एयर, हेली एभरेष्ट, कैलाश हेलिकप्टर, मनाङ एयर, माउन्टेन हेलिकप्टर, मुस्ताङ हेलिकप्टर, प्रभु हेलिकप्टर र सिम्रिक एयर लगायत कम्पनीहरूले विशेष सावधानी अपनाउनुपर्नेछ ।

निर्देशनअनुसार व्यावसायिक उडानहरू हिउँले ढाकिएको (ह्वाइटआउट)  वा बाक्लो कुहिरो परेको अवस्थामा उडान गर्न पाइँदैन ।

त्यस्तै हिउँमा हेलिकप्टर अवतरण गर्न सजिलो होस् भनेर स्किडमा ‘बेयर पोज’ अनिवार्य रूपमा जडान गर्नुपर्ने छ । उच्च स्थानमा हुने उडानका लागि ‘मार्सलर’ राखेर उडान र अवतरण गराउन समेत प्राधिकरणले भनेको छ ।

हेलिप्याडमा उडान र अवतरण गर्नु अगाडि हिँउ तथा अन्य वस्तु सफा गरेर मात्र सञ्चालन गर्नुपर्नेछ ।

प्राधिकरणले यी निर्देशनहरू तत्काल कार्यान्वयनमा ल्याउन सबै कम्पनीहरूलाई आग्रह गरेको छ ।