Butwal Today

एमालेको सचिवालय बैठक शनिबार बस्दै

१४ कार्तिक २०८२, शुक्रबार
अ+
अ-

काठमान्डौ, १४ कार्तिक ।

नेकपा एमालेको सचिवालय बैठक शनिबार बिहान अध्यक्ष केपी शर्मा ओलीको अस्थायी निवास, भक्तपुरको गुण्डुमा बस्ने भएको छ । बैठकमा विशेषगरी दुईवटा मुख्य विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सचिवालय बैठकका मुख्यगरी दुईवटामात्र एजेण्डा रहेको बताए । उनका अनुसार आगामी मंसिर २७,२८ र २९ गते पोखरामा हुनेगरी तोकिएको ११ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक र विघटित प्रतिनिधि सभा पुनर्स्थापनाका लागि जनपरिचालन गर्ने निर्णय बैठकले गर्नेछ ।

सचिवालय बैठकले महाधिवेशनका लागि सदस्यताको निर्क्योल, महाधिवेशन प्रतिनिधि चयनको विधि र मापदण्ड निर्धारण गर्नेछ । साथै विभिन्न समिति र उपसमितिहरूको गठनसमेत बैठकबाट टुंगो लगाइने बताइएको छ ।

यसअघि, २०७८ मंसिरमा चितवनको सौराहामा एमालेले १०औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको थियो । प्रत्येक पाँच वर्षमा आयोजना हुने महाधिवेशन यसपटक झन्डै एक वर्ष अघि नै आयोजना गर्न लागिएको छ ।