© २०२३
काठमान्डौ, १४ कार्तिक ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२६ को अक्सन आगामी डिसेम्बरको दोस्रो वा तेस्रो सातामा हुने सम्भावना देखिएको छ ।
फ्रेन्चाइज अधिकारीहरूका अनुसार भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) सँगको छलफलपछि डिसेम्बर १३ देखि १५ बीच अक्सन आयोजना हुने मिति प्राथमिक रूपमा तय गरिएको समाचार संस्था क्रिकबजले उल्लेख गरेको छ । यद्यपि, लिगको गभर्निङ काउन्सिलले औपचारिक रूपमा तालिका सार्वजनिक गरेको छैन ।
यो पटक अक्सन भारतमै हुने सम्भावना बढी रहेको बताइएको छ । अघिल्ला दुई संस्करणमा अक्सन विदेशमा भएका थिए — सन् २०२३ मा दुबई र २०२४ मा साउदी अरेबियाको जेद्दामा । तर यसपटक बीसीसीआईले मिनी अक्सन भारतमै आयोजना गर्ने तयारी गरेको छ ।
फ्रेन्चाइज टोलीहरूले नोभेम्बर १५ भित्र आफ्नो रिटेन्सन सूची (राख्ने र छोड्ने खेलाडीहरूको नाम) बीसीसीआईमा बुझाउनुपर्नेछ । सो म्यादभित्रै टिमहरूले अक्सनअघि रिलिज हुने खेलाडीहरूको सूची अन्तिम गर्नेछन् ।
यो सिजन ठूला संरचनात्मक परिवर्तनको अपेक्षा नरहे पनि चेन्नई सुपर किङ्स (सीएसके) र राजस्थान रोयल्समा केही फेरबदल हुने सम्भावना रहेको बताइएको छ । यी दुवै टिम अघिल्लो सिजनमा तल्लो स्थानमा रहेका थिए ।
रिपोर्टअनुसार दीपक हुड्डा, विजय शंकर, राहुल त्रिपाठी, साम करान र डेभन कोनवे जस्ता खेलाडीहरू रिलिज सूचीमा परेका छन् । चेन्नईका लागि ठूलो परिवर्तनको रूपमा आर अश्विनको सन्यासपछि उनको ९.७५ करोड रुपैयाँ बराबरको बजेट पुनः प्रयोगमा ल्याइने तयारी छ ।
राजस्थान रोयल्सले कप्तान सञ्जु सामसनको ट्रेड गर्न नसके रिलिज सूचीमा उनको नाम पनि पर्न सक्ने चर्चा छ । त्यस्तै, टी नटराजन, मिट्चेल स्टार्क, आकाश दीप, मयंक यादव र डेभिड मिलर पनि सम्भावित रिलिज खेलाडीका रूपमा चर्चामा छन् ।
यसैबीच, कोलकाता नाइट राइडर्सका वेंकटेश अय्यर, जसलाई गत अक्सनमा २३.७५ करोडमा खरिद गरिएको थियो, उनको भविष्य पनि अनिश्चित देखिएको छ ।
फ्रेन्चाइजबीचको चर्चाअनुसार अष्ट्रेलियाली अलराउन्डर क्यामरुन ग्रीन यो अक्सनका सबैभन्दा आकर्षक खेलाडीमध्ये एक हुने पक्का छ । चोटका कारण उनले अघिल्लो अक्सन गुमाएका थिए, तर यसपटक धेरै टोलीहरूले उनलाई प्राथमिकता सूचिमा राखेका छन् ।