© २०२३
काठमान्डौ, १४ कार्तिक ।
सरकारले भिजिट भिसासम्बन्धी विवादास्पद ६ बुँदे मापदण्ड खारेज गरी नयाँ व्यवस्था लागू गरेको छ । अध्यागमन विभागको प्रस्तावमा गृह मन्त्रालयले उक्त मापदण्ड खारेज गर्ने निर्णय गरेको हो ।
नयाँ व्यवस्थाअनुसार अब भिजिट भिसामा विदेश जान चाहने व्यक्तिसँग ६ महिनाको वैध राहदानी, गन्तव्य देशको भिसा, दुईतर्फी हवाई टिकट र स्वेच्छाले यात्रा गर्न लागेको स्वघोषणा पत्र भए पुग्नेछ ।
यसअघि लागू गरिएको मापदण्डमा दुईतर्फी हवाई टिकट, होटेल बुकिङ, आफन्तकोमा बस्ने भए तीन पुस्ते विवरण, पाँच सय अमेरिकी डलर साथमा बोक्नुपर्ने व्यवस्था, साथै यूएई, बहराइन, कुवेत, कतार, ओमान र साउदी अरबका लागि स्वघोषणा अनिवार्य गर्ने प्रावधान थियो ।
ती प्रावधानप्रति तीव्र विरोध र विवाद उठेपछि सरकारको निर्णयले ती सबै हटाइएको हो । नयाँ व्यवस्थाले भिजिट भिसामा विदेश जान इच्छुक नेपालीहरूलाई सहजता पुर्याउने र साथै भिसाको आवरणमा हुने मानव तस्करी तथा ठगी नियन्त्रणमा मद्दत गर्ने अपेक्षा गरिएको छ ।