Butwal Today

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी

१४ कार्तिक २०८२, शुक्रबार
अ+
अ-

काठमान्डौ, १४ कार्तिक ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि निरन्तर रूपमा जारी रहने भएको छ । पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, ललितपुरमा दिउँसो १ बजेबाट बैठक सुरु हुनेछ ।

गत असोज २८ गतेदेखि सुरु भएको बैठक भदौ २३ र २४ गतेका ‘जेनजी आन्दोलन’, अन्तरिम सरकारको गठन, प्रतिनिधिसभा विघटनपछि उत्पन्न राजनीतिक परिस्थिति तथा त्यसमा कांग्रेसको भूमिकामाथि केन्द्रित रहेको बताइएको छ ।

पार्टीका प्रवक्ता प्रकाशशरण महतका अनुसार आजको बैठकमा धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यले आगामी निर्वाचनपछि मात्र महाधिवेशन सम्पन्न गर्नु उपयुक्त हुने मत व्यक्त गरेका छन् ।

हिजो सम्पन्न बैठकमा केन्द्रीय सदस्यहरू मानबहादुर विश्वकर्मा, कृष्णचन्द्र नेपाली पोखरेल, बहादुरसिंह (लामा) तामाङ, रमा कोइराला, टेकप्रसाद गुरुङ, राजेन्द्रकुमार केसी, रङ्गमती शाही, मदनकृष्ण श्रेष्ठ, सीताकुमारी राना, विद्यादेवी तिमिल्सिना, शान्ति परियार विक, लक्ष्मी खतिवडा, आमन्त्रित केन्द्रीय सदस्य पुष्पराज पराजुली, आमन्त्रित प्रदेश सभापति इन्द्रबहादुर बानियाँ (बागमती)  र अमरसिंह पुन (लुम्बिनी) ले आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए ।