Butwal Today
क्रिकेट विश्वकप लिग २

यूएईले नेपालमाथि ५ विकेटको जीत हात पार्‍यो

१३ कार्तिक २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ ।

कप्तान रोहित पौडेलको शतकीय प्रदर्शनका बाबजुद नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ मा लगातार दोस्रो हार व्यहोरेको छ ।

अघिल्लो खेलमा अमेरिकासँग पराजित भएको नेपाल बिहीबार यूएईसँग पनि ५ विकेटले पराजित भयो ।

२३४ रनको लक्ष्य पछ्याएको यूएईले ४३.३ ओभरमा ५ विकेट गुमाएर २३७ रन बनाए । यूएईका ओपनर आर्यांश शर्माले ९८ रनको उत्कृष्ट पारी खेले भने एलिशान शराफुले ४५ रनको योगदान गरे । शोयब खान शून्य रनमै आउट भए ।

रिटायर्ड हर्ट राहुल चोपडाले १५ रन बनाए भने मुहम्मद वसीमले २६ रन जोडे । हर्षित कौशिकले १३ रन, ध्रुव पराशरले नटआउट १६ रन र जाहिद अलीले नटआउट ६ रन जोडे । नेपाली बलरहरूले १३ अतिरिक्त रन उपहार दिएका थिए ।

नेपालका लागि सन्दीप लामिछानेले २ विकेट लिए भने करण केसी र दीपेन्द्र सिंह ऐरीले समान १–१ विकेट झारे । अन्य चार बलर—ललित राजवंशी, सोमपाल कामी, आरिफ शेख र कुशल भुर्तेल—विकेटविहीन रहे ।

दुबईमा सम्पन्न खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । ५० ओभर पूरा गर्दै नेपालले सबै विकेट गुमाएर २३३ रन बनाएको थियो ।

कप्तान रोहित पौडेलले उत्कृष्ट पारी खेले । उनले १२६ बलमा शतक पूरा गर्दै अन्ततः १२९ बलमा १०९ रन बनाए । जाहिद अलीको बलमा क्याच आउट भएका उनी नेपालका शीर्ष स्कोरर बने ।

नेपालको सुरुवात अपेक्षाकृत कमजोर रह्यो । ओपनर कुशल भुर्तेल ७ रनमै आउट भए भने अर्का ओपनर आसिफ शेखले ३५ रन जोडे । भीम सार्की १३ बलमा ३ रनमा आउट भए भने आरिफ शेखले २७ रन बनाए । दीपेन्द्र सिंह ऐरीले २८ बलमा २३ रन जोडे । गुल्सन झा पहिलो बलमै क्याच आउट हुँदै शून्य रनमा फर्किए ।

सोमपाल कामीले १३ बलमा ६ रन र करण केसीले ८ बलमा १३ रनको योगदान गरे । नेपालले ७ अतिरिक्त रन पायो ।

यूएईका लागि जाहिद अलीले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए । जुनैद सिद्दिकीले ३ विकेट झारे भने मुहम्मद रोहिद र हैदर अलीले समान १–१ विकेट लिएका थिए । ध्रुव पराशरले विकेट हात पार्न सकेनन् ।

लिग २ को अंकतालिकामा २२ खेलमा १६ जित निकालेको अमेरिका ३२ अंकसहित शीर्ष स्थानमा छ । यूएईले यो जितसँगै १८ खेलबाट ८ अंक जोड्दै अन्तिम स्थानमै रहँदा नेपाल १८ खेलमा ५ जितसहित १२ अंकमा अन्तिमबाट दोस्रो स्थानमा छ ।

दुबईमा नेपाल, अमेरिका र यूएईबीच आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का खेलहरू जारी छन् ।