© २०२३
काठमान्डौ, १२ कार्तिक ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले यस वर्षदेखि लागू हुने शैक्षिक सत्रका लागि विस्तृत ‘शैक्षिक क्यालेन्डर’ सार्वजनिक गरेको छ । त्रिविले मंगलबार सार्वजनिक गरेको उक्त क्यालेन्डरमा स्नातक तहको वार्षिक र सेमेष्टर प्रणाली साथै स्नातकोत्तर तहको सेमेष्टर प्रणाली अन्तर्गतका सबै शैक्षिक गतिविधिहरूको समयतालिका समावेश गरिएको छ ।
त्रिविका शिक्षाध्यक्ष प्रा. डा. खड्ग केसीका अनुसार विश्वविद्यालयको प्राज्ञिक परिषद्को निर्णय अनुसार क्यालेन्डर सार्वजनिक गरिएको हो । उनका अनुसार, कक्षाको नियमित सञ्चालन, परीक्षा र परीक्षाफल समयमै प्रकाशित गर्न व्यवस्थित योजना आवश्यक भएकाले यसपटक औपचारिक क्यालेन्डर जारी गरिएको हो ।
शिक्षाध्यक्ष केसीले त्रिविका ६४ आंगिक क्याम्पस र ४४ केन्द्रीय निकाय सहित सबै सम्बन्धनप्राप्त क्याम्पसहरूलाई यही क्यालेन्डरअनुसार पढाइ, परीक्षा र परीक्षाफल प्रकाशन गर्न निर्देशन दिइसकिएको जानकारी दिए ।
त्रिविले चार वर्षे स्नातक तहका लागि आठ सेमेष्टर प्रणाली सञ्चालन गर्नेछ । क्यालेन्डरअनुसार यस सत्रको भर्ना फारम यही कात्तिकभित्र, प्रवेश परीक्षा र भर्ना प्रक्रिया मंसिरमा, तथा कक्षा सञ्चालन पनि मंसिरमै सुरु हुनेछ ।
प्रथम सेमेष्टरको परीक्षा २०८२ चैतभित्र, र त्यसको परीक्षाफल २०८३ असारमा प्रकाशित गर्ने लक्ष्य क्यालेन्डरमा उल्लेख गरिएको छ । यसैगरी आठौं सेमेष्टरको पढाइ २०८६ माघमा, परीक्षा २०८७ जेठमा र परीक्षाफल २०८७ भदौमा प्रकाशित गर्ने कार्यतालिका निर्धारण गरिएको छ ।
वार्षिक कक्षाका लागि भर्ना प्रक्रिया साउनदेखि मंसिरसम्म, र कक्षा सञ्चालन मंसिरदेखि सुरु हुनेछ । क्यालेन्डरअनुसार परीक्षा फारम २०८३ वैशाखमा, वार्षिक परीक्षा २०८३ साउनमा, र परीक्षाफल २०८३ कात्तिकमा प्रकाशित गरिनेछ ।
चार वर्षे वार्षिक कार्यक्रम अन्तर्गत अध्ययन २०८५ चैतभित्र पूरा गर्ने लक्ष्य राखिएको छ । चौथो वर्षको कक्षा सञ्चालन २०८४ चैतमा, परीक्षा फारम २०८५ कात्तिकमा, परीक्षा पुसमा, र परीक्षाफल चैतमा प्रकाशित गरिनेछ ।
स्नातकोत्तर तहका लागि पनि त्रिविले यसै शैक्षिक सत्रदेखि चार सेमेष्टर प्रणालीको शैक्षिक क्यालेन्डर लागू गरेको छ । क्यालेन्डरअनुसार प्रथम सेमेष्टरका लागि फारम वितरण मंसिरमा, प्रवेश परीक्षा पुसमा, र कक्षा सञ्चालन माघदेखि सुरु हुनेछ । प्रथम सेमेष्टरको परीक्षा जेठमा, र परीक्षाफल २०८३ भदौमा प्रकाशित गरिनेछ ।
२०८२ सत्रमा भर्ना भएका विद्यार्थीले अध्ययन पूरा गर्न २०८४ मंसिर सम्मको लक्ष्य निर्धारण गरिएको छ । चौथो सेमेष्टरको कक्षा सञ्चालन २०८४ वैशाखमा, परीक्षा भदौमा, र परीक्षाफल सोही वर्ष मंसिरमा प्रकाशित गरिने क्यालेन्डरमा उल्लेख छ ।