© २०२३
काठमाडौं, ११ कात्तिक ।
अरब सागरमा विकसित मौसमी प्रणालीका कारण गएरातिदेखि देशका विभिन्न स्थानमा वर्षा र हिमपात भइरहेको छ ।
मौसमविद्हरूका अनुसार बुधबारदेखि यो प्रणालीको प्रभाव घट्नेछ भने बिहीबार साँझदेखि बंगालको खाडीमा विकसित ‘मोन्था’ नामक चक्रवातको असरले पुनः मौसम बिग्रनेछ ।
यो प्रणालीका कारण गत असोजमा बाढीपहिरोबाट बढी क्षति पुगेको इलामसहितका जिल्ला पुनः उच्च जोखिममा रहेको चेतावनी मौसमविद्हरूले दिएका छन् ।
अरब सागरको प्रभावले मुगु, डोल्पा, हुम्ला, जुम्ला, मनाङ, मुस्ताङ, म्याग्दी र रुकुम (पूर्व) लगायतका उच्च भूभागमा भारी हिमपात भएको छ । काठमाडौं उपत्यकासमेत बादलले ढाकिएको छ र मौसम धुम्मिएको छ ।
मौसमविद् उज्जवल उपाध्यायका अनुसार आज रातिसम्म अरब सागरको प्रणालीको प्रभाव घट्दै जानेछ र भोलि बुधबारदेखि मौसममा सुधार आउनेछ । उनले लेखेका छन्, ‘काठमाडौंसहितका धेरै भूभागमा बुधबार वर्षा नहुने र केहीबेर घाम लाग्दा न्यानो महसुस हुने सम्भावना छ ।’ उनका अनुसार बिहीबार बिहान पनि मौसम सफा रहने पूर्वानुमान छ ।
तर बंगालको खाडीमा विकसित ‘मोन्था’ नामक चक्रवातको प्रभाव बिहीबार साँझदेखि देखिन थाल्नेछ । यसले बागमती, मधेश र कोशी प्रदेशका जिल्लामा वर्षा तथा हिमपात गराउने सम्भावना छ । गण्डकी प्रदेशको पूर्वी भागमा समेत यसको असर पर्ने अनुमान गरिएको छ ।
मौसमविद् उपाध्यायका भनाइअनुसार ‘मोन्था’ चक्रवात बिहीबार साँझ सोझै पर्सा, बारा, रौतहट र सर्लाही हुँदै नेपाल प्रवेश गर्ने देखिन्छ, जसले यी तराई जिल्लासहित बागमती प्रदेशमा पनि धेरै वर्षा गराउनेछ ।
उनका अनुसार उत्तरमा त्रिशूली र दक्षिणमा नारायणी नदीको पूर्व भाग यो प्रणालीको केन्द्र हुनेछ । उनले भने, यो प्रणाली पर्सा र सर्लाहीको बीच भागबाट नेपाल प्रवेश गर्नेछ र त्यस क्षेत्र हुँदै अघि बढ्दा वरिपरिका भागमा ठूलो वर्षा पार्नेछ । यसको उत्तरी भागमा पर्ने पहाडी र हिमाली क्षेत्रमा समेत भारी वर्षा तथा हिमपात हुने अनुमान गरिएको छ ।
यो प्रणाली ठूलो भएकाले त्रिशूली नदीदेखि कर्णाली नदीसम्म मध्यम असर पर्नेछ भने कर्णालीदेखि पश्चिमतिर असर कम रहनेछ । पूर्वी नेपालमा यसको प्रभाव बढी हुने देखिन्छ ।
बिहीबार साँझदेखि शुक्रबार मध्याह्नसम्म इलाम, धनकुटा, संखुवासभा, सोलुखुम्बु, तेह्रथुम, पाँचथर, खोटाङ र झापा जिल्ला उच्च जोखिममा पर्ने अनुमान छ । उपाध्यायका अनुसार यी जिल्लामध्ये केही स्थानमा दुई सय मिलिमिटरसम्म वर्षा हुनसक्छ ।
गत असोजमा आएको बाढीपहिरोले इलाममा ३९ जनाको ज्यान गएको थियो । त्यहाँको जमिन पहिल्यै कमजोर भएकाले सानो वर्षाले पनि फेरि पहिरो जान सक्ने सम्भावना उच्च रहेको मौसमविद्हरूको भनाइ छ । त्यसैले इलामसहितका जिल्लामा उच्च सतर्कता र पूर्वतयारी आवश्यक रहेको बताइएको छ ।
मौसमविद्हरूले रोल्वालिङ, सगरमाथा र मकालु–बरुण क्षेत्रमा बिहीबार र शुक्रबारसम्मका पदयात्रा स्थगित गर्न सुझाव दिएका छन् । पहिरोको जोखिम हुने राजमार्गहरूमा पनि विशेष सतर्कता अपनाउनुपर्ने सिफारिस गरिएको छ ।
उपाध्यायका अनुसार, बिहीबार मध्याह्नदेखि बीपी राजमार्ग, पृथ्वी राजमार्ग तथा काठमाडौं–हेटौंडा जोड्ने कुनै पनि सडकमा यात्रा नगर्दा राम्रो हुन्छ । उनका अनुसार काठमाडौं उपत्यका र वरपरका क्षेत्रमा ७० देखि ८० मिलिमिटरसम्म वर्षा हुनसक्छ, जसले पहिरो गइरहने स्थानहरूमा समस्या पार्न सक्छ ।
तर काठमाडौं उपत्यकाको उच्च भागमा हिउँ पर्ने सम्भावना भने छैन । मौसमविद् उपाध्यायका अनुसार, ‘कात्तिक महिनाको यो प्रणालीले काठमाडौंका अग्ला डाँडामा हिउँ पार्दैन ।’