© 2026
काठमान्डौ, ११ कार्तिक ।
आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक हजार मतदाता बराबर एक मतदान केन्द्र स्थापना गर्ने तयारी गरिएको छ । निर्वाचन आयोगले मतदाता संख्या अनुसारका मतदान केन्द्रहरू गठन गर्न प्रारम्भिक योजना तयार पारेको हो ।
विगतका निर्वाचनहरूमा पनि यही अभ्यास हुँदै आएको आयोगले जनाएको छ । आयोगका अनुसार एक हजार मतदाता पुगेको क्षेत्रमा एक मतदान केन्द्र कायम गरिने र प्रत्येक केन्द्रमा मतगणनासहितको सम्पूर्ण व्यवस्थापन गरिनेछ ।
एक मतदान केन्द्र सञ्चालनका लागि कम्तीमा १४ कर्मचारी आवश्यक पर्ने आयोगका अधिकारीहरू बताउँछन् । कर्मचारी व्यवस्थापनसहितका सम्पूर्ण तयारीका लागि सरकारले बजेट व्यवस्था मिलाइसकेको छ ।
आयोगका अनुसार आगामी निर्वाचनका लागि करिब साढे सात अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । हाल आयोगले प्रारम्भिक बजेट खाका तयार पारेको र त्यसलाई अन्तिम रूप दिएर अर्थ मन्त्रालयमा पठाउने तयारी भइरहेको जनाएको छ ।
चुनाव व्यवस्थापन, मतदान केन्द्र स्थापना र जनशक्ति परिचालनलाई सहज र पारदर्शी बनाउन आयोगले विस्तृत कार्ययोजना तयार गरिरहेको छ ।