© २०२३
गैडहवा (रुपन्देही) ।
आस्था, श्रद्धा र शुद्धताको प्रतीक मानिने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै रुपन्देहीको गैडहवा गाउँपालिकामा सम्पन्न भएको छ। बिहान ठीक ५:५० बजेतिर भक्तजनले सूर्यदेवको आराधना गर्दै दूध, फूल र जलले अर्घ्य अर्पण गरेपछि छठ पर्वको औपचारिक समापन गरिएको हो।
हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको थियो भने आज बिहान उदाउँदो सूर्यको पूजासँगै व्रतालु महिलाहरूले चार दिनसम्मको निर्जला व्रत सम्पन्न गरे। धार्मिक विश्वासअनुसार कम्मरसम्मको पानीमा डुबेर सूर्यको दर्शन गरी पूजा–आराधना गर्दा मनोकामना पूरा हुने मान्यता रहेको छ।
छठ पर्वको अवसरमा गैडहवा गाउँपालिका–६ स्थित सन्तेश्वर घाटमा हजारौं श्रद्धालु भक्तजनको भीड लागेको थियो। गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौड्यालका अनुसार सन्तेश्वर घाट रुपन्देहीकै प्रमुख छठघाटका रूपमा स्थापित हुँदै आएको छ। उनले भने, “हाम्रो मधेसमा छठ पर्व आस्थाको महान् पर्व हो। यसलाई सुरक्षित र व्यवस्थित बनाउन गाउँपालिकाको सहयोगमा सबै पक्षको सक्रियता रह्यो।”
अध्यक्ष पौड्यालका अनुसार, केही दिनअघि मूर्ति विसर्जनका क्रममा तीन युवाको मृत्यु भएको घटनालाई ध्यानमा राख्दै यसपटक सुरक्षा व्यवस्थालाई विशेष कडाइ गरिएको थियो। “सुरक्षा क्षेत्र तोकिएको थियो, प्रहरी र स्वयंसेवकहरू निरन्तर खटिए,” उनले बताए।

सन्तेश्वर घाट परिसरमा यस वर्ष करिब २० हजारभन्दा बढी श्रद्धालु सहभागी भएको समितिले जनाएको छ। घाटमा हजारौं बेदी निर्माण गरिनुका साथै वरिपरि सफाइ, बत्ती, सजावट र झलुवा टाँगिएका थिए। स्थानीय बासिन्दा मात्र होइन, छिमेकी गाउँपालिका र नजिकका जिल्लाबाट पनि भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
छठ पर्वको अवसरमा ‘सूर्य सनातनी परिवार’को आयोजनामा र गाउँपालिकाको संरक्षणमा धार्मिक कार्यक्रमसँगै साँस्कृतिक कार्यक्रम पनि सम्पन्न गरिएको थियो।
गैडहवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले छठ पर्व अब केवल मधेसमा सीमित नभई काठमाडौं र पहाडी क्षेत्रमा समेत यसको महत्त्व बढ्दै गएको बताए। उनले भने, “सरकारले यो पर्वलाई राष्ट्रिय आस्थासँग जोडिएको उत्सवका रूपमा सम्मान गरेको छ।”

ईलाका प्रहरी कार्यालय सूर्यपुराका प्रमुख पुष्कर कार्कीले पर्वका क्रममा कुनै अप्रिय घटना नहोस् भन्ने उद्देश्यले कडा सुरक्षा अपनाइएको जानकारी दिए।
गैडहवाका सबै नौ वडामा विभिन्न ताल, तलैया र खोलानालामा बेदी निर्माण गरी सामूहिक पूजा आयोजना गरिएको थियो। गाउँपालिकाले सार्वजनिक बिदा दिँदै सबै वडामा करिब ९ हजारभन्दा बढी पूजा बेदी निर्माण गरिएको बताइएको छ।
आज बिहानै भक्तजनहरूले ती बेदीमा पुगेर सूर्यलाई अर्घ्य दिएपछि छठ पर्वको धार्मिक विधिपूर्वक समापन गरिएको हो।