© 2026
काठमाडौँ ।
सूर्य, छठी माता र नदीको पूजाआराधना गरी मनाइने छठको रौनकले छोएको छ। आज दिनभर निर्जल व्रत गरेका बर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने व्रत विधि रहेको छ। कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ्य दिइएकाे छ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शनिबारदेखि सुरु भएको हो। ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित ५ पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो। त्यस समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ।
कार्तिक शुक्ल षष्ठीको रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ।
छठ पर्वका लागि राजधानीको गुह्येश्वरीबाट गौरीघाट क्षेत्र, कमलपोखरीलगायत बागमती, नक्खु र विष्णुमती नदी किनारका विभिन्न स्थानमा सजावट गरिएको छ।
प्रधानमन्त्री सुशीला कार्की पनि कमलपोखरी पुगेर छठको पूजा गरेकी थिइन्।
बुटवलमा छठ
उदाउँदो सूर्यलाई अघ्र्य दिँदै श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व बुटवलको तिलोत्तमा नदी किनार मनाईएको छ ।
छठ घाट पुजा ब्यवस्थापन समितिको आयोजनामा तिलोत्तमा नदी किनारमा ब्यवस्थित रुपमा छठ मनाईएको हो । बुटवल उपमहानगरपालिका वडा नंं ६ र वडा नं. २ का दुई स्थानमा मुर्ति स्थापना, टेन्ट र रंगिचंकी ध्वजापतकाहरुले सजाईएको छ ।

सोमबार साझ अस्ताउदो सूर्यलाई अर्घ दिदै बुटवलका ४ हजार बढी महिलाहरु भेला भएको छट घाट पुजा ब्यवस्थापन समिति सहसंयोजक अनिल गुप्ताले बताए ।
विगत आठ वर्षदेखी तिलोत्तमा नदी किनारमा ब्यवस्थित रुपमा छठ मनाउन लागिएको हो ।सोमबार साझ सन्ध्या आरती समेत गरिने उनले बताए । मंगलबार बिहान भने पुरुष र महिला दुबै जना उदाउदो सुर्यलाई अर्घ दिने उनले बताए ।

