Butwal Today

चुनाव हुन्छ वा हुँदैन भन्ने होइन, विकल्प नै छैन – प्रचण्ड

१० कार्तिक २०८२, सोमबार
अ+
अ-

काठमाडौँ, १० कात्तिक ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिस्थिति सम्हालेर शान्तिपूर्ण निर्वाचनमार्फत देशलाई समृद्धिको बाटोतर्फ लैजानुको विकल्प नभएको बताएका छन् ।

आज चितवनमा पत्रकारसँग कुरा गर्दै उनले पछिल्लो समय देशमा उत्पन्न परिस्थिति सहज बनाउन पनि निर्वाचनको विकल्प नभएको उल्लेख गर्दै सबै पक्ष त्यसमा एकजुट हुनुपर्नेमा जोड दिए ।

संयोजक दाहालले निर्वाचन सफल पार्नु पार्टीको पहिलो कार्यभार भएकाले पार्टीका तल्लो तहसम्मका नेता तथा कार्यकर्तालाई निर्वाचन तयारीमा जुट्न निर्देशन दिइएको बताए ।

उनका शब्दमा, “चुनाव हुन्छ वा हुँदैन भन्ने प्रश्न होइन, चुनावको विकल्प नै छैन । त्यसैले पार्टी यसको तयारीमा लागिसकेको छ ।”

दाहालले थपे, “मैले नेपाली कांग्रेसलगायत दलका नेताहरूसँग पनि निर्वाचनको विकल्प नरहेको विषयमा निरन्तर कुराकानी गरिरहेको छु । चुनावको वातावरण बनाउन हामी सबै लागौँ, सरकार पनि त्यस दिशातर्फ सक्रिय भएको मैले अनुभव गरेको छु ।”

संयोजक दाहालले सरकारलाई अन्य विषयमा अल्मिनु नदिई निर्वाचनमा केन्द्रित हुन आग्रह गरे ।

त्यस्तै, उनले समाजवादी मोर्चाभित्र रहेका दलहरूबीच एकताको विषयमा भएको छलफल सकारात्मक रहेको जानकारी दिए ।

“यही हप्ताभित्र मोर्चाभित्र रहेका दलबीच एकता हुने वा नहुने निष्कर्ष आउँछ । त्यसबाहेक मधेसवादीसहितका दल र माओवादी मिलेर निर्वाचनमा जाने सम्भावना पनि छ,” संयोजक दाहालले भने ।