Butwal Today

कात्तिक २० गते काठमाडौँमा हुने आमसभामा सहभागी हुन विप्लवको आह्वान

१० कार्तिक २०८२, सोमबार
अ+
अ-

काठमान्डौ, १० कार्तिक ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आगामी कात्तिक २० गते काठमाडौँमा हुने बृहत् आमसभामा सहभागिताका लागि आह्वान गरेका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत विप्लवले स्वाधीनता र समाजवादको पक्षमा एकजुट हुन सबैलाई आह्वान गर्दै भ्रष्टाचार र दलालीविरुद्ध दृढ प्रतिबद्धता जनाएका छन् ।

‘नेपाललाई अरूले होइन हामी आफैँले फेर्ने हो । अरूले होइन नेपालीले नै चलाउने हो । जब भ्रष्ट, कमिसनखोर, तस्कर, दलाल, परजीवीहरू समाप्त हुनेछन् । देशले आत्मसम्मान सहित उन्नति हासिल गर्नेछ । स्वाधीनता र समाजवादका पक्षमा उभिन कात्तिक २० गते काठमाडौँमा भेटौँ साथीहरू’, उनले लेखेका छन् ।

पार्टीका अनुसार, हालै सम्पन्न केन्द्रीय समितिको विशेष बैठकले विभिन्न चरणमा राजनीतिक संघर्ष र जनसङ्गठन विस्तार गर्ने निर्णय गरेको थियो ।

त्यही निर्णयअनुसार काठमाडौँमा आयोजना हुने उक्त आमसभालाई पार्टीले आगामी राजनीतिक अभियानको सुरुआतको रूपमा लिएको छ ।