Butwal Today

महाधिवेशन तयारीमा एमाले, पार्टी सदस्य संख्या ६ लाख ६३ हजार पुग्यो

१० कार्तिक २०८२, सोमबार
अ+
अ-

काठमान्डौ, १० कार्तिक ।

मंसिर अन्तिम साता महाधिवेशन गर्ने तयारीमा रहेको नेकपा एमालेमा हाल पार्टी सदस्य संख्या ६ लाख ६३ हजार कायम भएको छ ।

पार्टीका प्रचार विभाग प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमका अनुसार संगठन विभागले अद्यावधिक गरेको यही सदस्य संख्या नै महाधिवेशन प्रतिनिधि छनोटको आधार बन्नेछ । ‘महाधिवेशन प्रक्रियामा सहभागी हुने पार्टी सदस्य संख्या तय भइसकेको छ,’ गौतमले बताए, ‘अब बाँकी तयारी र निर्णयहरू सचिवालय बैठकले गर्नेछ ।’

उनका अनुसार आगामी हप्ताभित्र सचिवालय बैठक बस्ने र त्यस बैठकले प्रतिनिधि छनोटदेखि अन्य आवश्यक तयारीका विषयमा निर्णय गर्ने तयारी भइरहेको छ ।

गौतमले यसपटक पार्टी सदस्य संख्या उल्लेख्य रूपमा बढेको पनि जानकारी दिए । ‘पहिले ५ लाख ४० हजार सदस्य थियौं,’ उनले भने, ‘यसपालि २८ प्रतिशत वृद्धि हुँदै सदस्य संख्या ६ लाख ६३ हजार पुगेको छ ।’