© 2026
काठमान्डौ, १० कार्तिक ।
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड आज राति दुई घण्टाका लागि पूर्ण रूपमा बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँका अनुसार आँबुखैरेनी गाउँपालिका–४ स्थित साँखर क्षेत्रमा भूकम्प प्रतिरोधकता परीक्षणका लागि आज राति १२ बजेबाट दुई बजेसम्म सडक अवरुद्ध गरिनेछ ।
कार्यालयकी प्रशासकीय अधिकृत सिर्जना रेग्मीका अनुसार पहिरो नियन्त्रणका उद्देश्यले सो क्षेत्रमा भूकम्प प्रतिरोधकता परीक्षण अध्ययन गर्नुपर्ने भएकाले अस्थायी रूपमा सडक बन्द गर्न लागिएको हो ।
गएको असोज १८ गते उक्त स्थानमा सडक भासिएपछि हाल त्यहाँ एकतर्फी रूपमा मात्र सवारीसाधन सञ्चालन हुँदै आएको छ । यसअघि २०७९ साल जेठ २७ गते पनि सोही स्थानमा सडक भासिएपछि मस्र्याङ्दी नदीतर्फबाट भित्ता काटी पर्खाल निर्माण गरिएको थियो । तर, पुनः त्यही खण्ड फेरि भासिएपछि प्राविधिक परीक्षणका लागि सडक बन्द गर्न लागिएको हो ।
प्रशासनले उक्त अवधिमा यात्रु तथा सवारीचालकहरूलाई वैकल्पिक तयारी गर्न र निर्धारित समयमा यात्रा नगर्न अनुरोध गरेको छ ।
