© 2026
काठमान्डौ, १० कार्तिक ।
आगामी तीन दिन देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आज सार्वजनिक गरेको मौसमी बुलेटिनअनुसार आज (सोमबार) दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने तराईका क्षेत्रमा आंशिक बदली रहनेछ । साथै गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको छ ।
भोलि (मंगलबार) दिउँसो र राति गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा ठूलो वर्षा र हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ । लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा पनि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ ।
त्यसैगरी, पर्सि (बुधबार) कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा हल्का वर्षा र हिमपात हुने अनुमान गरिएको छ ।
महाशाखाले विशेषगरी पहाडी र हिमाली क्षेत्रका बासिन्दालाई मौसमका कारण उत्पन्न हुन सक्ने जोखिमलाई ध्यानमा राखी सतर्क रहन तथा यात्रा गर्दा आवश्यक सावधानी अपनाउन सुझाव दिएको छ ।