© २०२३
काठमाडौं, ३१ असोज ।
नेपाली सेनाले आफूहरू राजनीति नगर्ने स्पष्ट पारेको छ । शुक्रबार जेनजी आन्दोलनपछिको अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सेनाको युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले यस्तो प्रष्टिकरण दिएका हुन् ।
उपरथी थापाले भने, “यो जेन–जीसँगको वार्ताको सन्दर्भमा एक कुरा स्पष्ट छ – नेपाली सेना राजनीति गर्दैन ।”
उनले थपे, “तत्कालीन परिस्थितिमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्न सेनाले वस्तुगत रूपमा अवस्था मूल्यांकन गरेर आवश्यक पहल मात्र लिएको हो ।”
आन्दोलनपछिको अवस्थालाई संकेत गर्दै उनले भने, “यसको परिणामबाटै थाहा हुन्छ — नियत कस्तो थियो भन्ने कुरा हामीले आकलन गर्न सक्छौं ।”
थापाले शान्ति स्थापनाका प्रयास र आन्दोलनलाई सहयोग पुर्याउने भनिएको तर्कलाई छुट्याएर मूल्यांकन गर्नुपर्ने धारणा राखे ।
मेडागास्करमा भएको जेन–जी आन्दोलनपछि त्यहाँको सेनाले शक्ति हातमा लिएको प्रसंग उल्लेख गर्दै, उनले भने, “नेपाली सेनाले भने त्यसबेला सबै पक्षसँग छलफल गरेर मात्र काम गरेको हो ।”
उनले थपे, “एउटा क्षणका लागि सोचौं — भदौ २४ को राति सेनाले स्थिति साम्य पार्न जे प्रयास गर्यो, त्यो नगरेको भए वा अन्य देशहरूमा देखिएका मोडलहरूअनुसार हामीले अघि बढाएको भए, परिणाम के हुन्थ्यो ?”
उनका अनुसार, नेपाली सेनाले शान्तिपूर्ण निकास र अराजक अवस्था न्यूनीकरण गर्न सबै पक्षहरूसँग छलफल गर्नु आवश्यक ठानेको थियो ।
सेनाको निष्कर्ष अनुसार, आन्दोलनमा सबै थरि मानिसहरू संलग्न थिए । उपरथी थापाले भने, “कुनैकुनै समूह तीन वर्षअघिबाटै आन्दोलनरत थिए । ती व्यक्ति वा समूहहरू तत्कालीन परिवेशमा राजनीतिक दलहरूसँग छलफल गर्न तयार थिएनन् ।”
“त्यसैले, परिस्थितिलाई थप जोखिमपूर्ण बन्न नदिन उनीहरूलाई छलफलको टेबलमा ल्याउनु नै उत्तम विकल्प भएको सेनाको निष्कर्ष थियो,” उनले प्रस्ट पारे ।