© २०२३
काठमाडौँ ।
भारतले गएको सेप्टेम्बर २८ मा सम्पन्न एशिया कप २०२५ को विजेता ट्रफी अझै प्राप्त नगरेको क्रिकबजले जनाएको छ ।
दुबईको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न फाइनलमा भारतले पाकिस्तानलाई पराजित गर्दै उपाधि जितेको थियो । तर, खेलपछि भारतीय टोलीले ट्रफी लिन अस्वीकार गरेको थियो ।
ट्रफी नलिनुको कारण हो – ट्रफी हस्तान्तरण गर्न पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष तथा एशियन क्रिकेट काउन्सिल (एसीसी) प्रमुख मोहसिन नक्वीको उपस्थिती । भारतीय टोलीले नक्वीबाट ट्रफी लिन अस्वीकार गरेपछि ट्रफी हालसम्म पनि दुबईस्थित एसीसीको कार्यालयमै रहेको बताइएको छ ।
क्रिकबजका अनुसार, पीसीबी अध्यक्ष नक्वीले एसीसी कर्मचारीहरूलाई आफ्नो स्वीकृति बिना ट्रफी सार्न नपाइने निर्देशन दिएका छन् । दुबईमा रहेको आईसीसी एकेडेमी परिसरभित्र एसीसीको कार्यालय छ, जहाँ हाल दुई जना कर्मचारी कार्यरत छन् ।
सेप्टेम्बर ३० मा दुबईमा सम्पन्न एसीसीको वार्षिक साधारण सभामा भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तानले ट्रफीसम्बन्धी विवाद समाधान गर्न छलफल गर्ने निर्णय गरेका थिए ।
अब यो विषय आउँदो नोभेम्बर ४ देखि ७ सम्म दुबईमा हुने आईसीसी त्रैमासिक बैठकसँगै पुनः उठ्नेछ । यद्यपि, मोहसिन नक्वी बैठकमा उपस्थित हुने पक्का छैन ।
गत जुलाईमा भएको आईसीसी वार्षिक सम्मेलनमा पनि नक्वी अनुपस्थित थिए । एसीसी भित्रका केही स्रोतहरूका अनुसार, उहाँले यसपटक पनि कुनै प्रतिनिधि पठाउने सम्भावना रहेको बताइएको छ ।