Butwal Today

निर्वाचन प्रक्रिया बाधा पुर्‍याउन केही तत्वहरू सक्रिय : गृहमन्त्री अर्याल

३० आश्विन २०८२, बिहीबार
अ+
अ-

 काठमाडौं, ३० असोज ।

गृहमन्त्री ओमप्रकाश अर्यालले केही तत्वहरूले निर्वाचनलाई बिथोल्न सक्रिय भएको आरोप लगाएका छन् ।

जिल्ला समन्वय समिति भक्तपुरको कार्यालय अनुगमन गर्दै सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले निर्वाचनको माहोल बिगार्ने प्रयास गर्नेहरूलाई सरकारले सम्झाइबुझाइ गर्ने बताएका छन् । सम्झाउँदा नमानेमा सरकारले आफ्नो ढंगबाट काम गर्ने उनको भनाइ छ ।

‘कोही कोही तत्वहरूले भड्काउन खोजिरहेको देखिन्छ । अब ती तत्वहरूलाई सकभर सम्झाइबुझाइ नै गर्ने हो,’ गृहमन्त्री अर्यालले भने, ‘यदि ती तत्वहरूले भड्काउने प्रयास गर्छन् भने सरकारले आफ्नो तरिकाले काम गर्छ । निर्वाचन तोकिएकै मितिमा नै गराइनेछ ।’

उनले वर्तमान सरकारले स्वतन्त्र र निष्पक्ष ढंगबाट निर्वाचन गराउन गठन गरिएको उल्लेख गर्दै तोकिएकै मितिमा निर्वाचन गराउने दाबी गरे ।

‘निर्वाचनका लागि सबै पक्षहरू संवादमा आउनुपर्छ । स्टेकहोल्डरहरूले संवादमा सहभागिता जनाउनुपर्छ । सरकारले संवादमा सहजीकरण गर्नेछ । राष्ट्रपतिज्यूले पनि संवाद सुरु गरिसक्नुभएको छ । हामीले हाम्रो तहबाट पनि संवादका लागि आह्वान गरिरहेका छौँ । यस्तो अवस्थामा कुनै पनि पक्षले परिस्थितिलाई भड्काउने काम गर्नु हुँदैन,’ उनले भने ।

सरकारले प्रहरी कर्मचारी लगायतको मनोबल बढाउने काम पनि गरिरहेको उनले उल्लेख गरे ।