© २०२३
काठमान्डौ, ३० असोज ।
नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाले कार्यकारी जिम्मेवारी त्यागी उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएपछि पहिलोपटक आज (बिहीबार) पार्टीको केन्द्रीय समिति बैठक बस्दैछ ।
यसअघि मंगलबार सभापति देउवाको अध्यक्षतामा सुरु भएको बैठकलाई निरन्तरता दिँदै आजदेखि बैठकको अध्यक्षता कार्यवाहक सभापति खड्काले गर्नेछन् । बैठक दिउँसो १ बजे ललितपुरको सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा बस्ने तय गरिएको छ ।
खड्काले कार्यवाहक सभापतिको जिम्मेवारी पाएपछि एक दिन स्थगित गरिएको बैठकलाई आज पुनः निरन्तरता दिइँदैछ । यसबीच बुधबार पार्टीभित्र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा निकट नेताहरूले विशेष महाधिवेशन आह्वान गर्न माग गर्दै कार्यवाहक सभापति खड्कालाई हस्ताक्षर बुझाएका छन् ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीबाट घरमै कुटपिट भएपछि देउवा दम्पती लामो समयदेखि सार्वजनिक गतिविधिबाट टाढा रहेका थिए। उनीहरू मंगलबार मात्रै सार्वजनिक भएका हुन् ।
पूर्वप्रधानमन्त्री देउवाले पत्नी आरजु राणा देउवासँगै सार्वजनिक उपस्थितिका क्रममा कांग्रेस केन्द्रीय समितिको बैठकमा लिखित मन्तव्य पठाउँदै पार्टीको कार्यकारी भूमिकाबाट अलग भएको घोषणा गरेका थिए । सोही अवसरमा उनले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी औपचारिक रूपमा हस्तान्तरण गरेका थिए ।