© २०२३
अधिकांश युवा कृषि पेसा छोडेर विदेश पलायन भइरहेको पछिल्लो समय नेपाललाई कृषिप्रधान मुलुकको परिचय दिनु उपयुक्त हुन्छ, हुँदैन, त्यो सरकार र कृषि विज्ञहरूले बुझ्ने कुरा हो । तर, नेपाललाई अझै पनि कृषिप्रधान मुलुकको संज्ञा दिँदा अत्युक्ति हुँदैन ।
किनभने नेपालका करिब ८० प्रतिशत जनताको जीवनको आधार कृषि नै हो । युवाहरू विदेश गए पनि तिनका अभिभावक अहिले पनि कृषिमै जोडिएका छन् । यद्यपि अधिकांश जग्गा प्लटिङ गरिएका कारण धान उत्पादन हुने खेत घट्दै गएको छ ।
खेती गर्ने किसानको सङ्ख्या पनि घटेको छ । पहिले एक बिगाहा खेती गर्ने किसानको सङ्ख्या अहिले दुईचार कट्ठामा सीमित भएको छ । तर पनि भन्दै पर्दछ– नेपाल कृषिप्रधान मुलुक हो ।
अफसोस अबको केही बर्षभित्रैमा नेपाल कृषिप्रधान मुलुकबाट पराधीन मुलुकको रूपमा विस्थापित हुने हो कि भन्ने चिन्ता बढेको छ । किनभने पहाडबाट बसाइसराइका कारण त्यहाँको जमिन बाझिँदै गएको छ ।
पहाडबाट युवा विदेश जाने र तराईमा घडेरी किनेर पहाड छाड्ने प्रवृत्तिले विकराल रूप लिने अवस्था आएको छ । पहाड बस्ती विनाको उजाड बन्ने र तराई कङ्क्रिटले ढाक्ने अवस्था यही रफ्तारमा बढिरहने हो भने नेपालले अबको केही बर्षभित्रैमा कृषिप्रधान मुलुकको परिचय र अस्तित्व गुमाउनु पर्नेछ ।
त्यसो त अहिले नै नेपालले वार्षिक ४० अर्ब बराबरको धान चामल आयात खेप्नुपरिरहेको अवस्थाले त्यो सङ्केत गरिसकेको छ । यो चिन्ताको प्रसङ्ग आज विश्व खाद्य दिवसको अवसरमा गरिएको हो । ‘राम्रो खाना र राम्रो भविष्यका लागि हातमा हात मिलाऔँ’ भन्ने नाराका साथ आज विश्व खाद्य दिवस मनाईदैछ ।
हरेक वर्ष अक्टोबर १६ मा मनाइने खाद्य दिवस यस वर्ष पनि नेपालमा विभिन्न कार्यक्रम गरी मनाईदैछ । वर्षौँदेखि सरकारी तथा गैरसरकारी सङ्घ संस्थाले विभिन्न कार्यक्रम गरी विश्व खाद्य दिवस मनाउँदै आएका छन् । यद्यपि नेपालमा यो दिवसले खासै औचित्य पुष्टि गर्न सकेको छैन ।
किनभने खाद्य दिवसलाई औपचारिक मात्रै बनाइएको छ । दिवस मनाउनका लागि मात्रै मनाउने प्रवृत्ति बढिरहेको छ । यो दिवस मनाउँदै गर्दा नेपालमा खाद्यान्न अभावकै चिन्ता बढ्दो छ । नेपालमा अझै पनि व्यावसायिक कृषिको सुरुवात नै हुन सकेको छैन ।
जसका कारण कृषिमा आत्मनिर्भरताको नारा केवल भाषणमा मात्रै सीमित भएको छ । नेपालीहरू वैदेशिक रोजगारप्रति आकर्षित हुन थालेपछि हाम्रा बारीका कान्ला उजाड बन्दै गएका छन् ।
कृषिप्रधान मुलुक नेपालमा अहिले भारतबाट वार्षिक ४० अर्ब बढीको चामल मात्रै आयात हुन्छ भन्दा पत्याउनै मुस्किल पर्दछ तर यथार्थ यही हो र सत्य पनि । बर्सेनि बढिरहेको खाद्यान्न आयात, जथाभाबी प्रयोग गरिएको कृत्रिम रासायनिक र घातक विषादी, निर्जीव हुँदै गइरहेको माटो, नेपालको प्रमुख कृषि उत्पादन र जनस्वास्थ्यका सङ्कटको सूचक हो ।
कृषिमा आमूल परिवर्तनका लागि समग्र खेती प्रणाली र खाद्य प्रणाली दिगो बनाउने जिम्मेवारी स्थानीय सरकारको काँधमा आएको छ । तर, स्थानीय सरकारले पनि जनतामा आशाको सञ्चार गर्न सकेनन् ।
कतै दसैँमा निधार भरी अक्षता हुन्छ तर कतै दसैँमा चामल समेत नहुँदा साँझ बिहानको छाक टार्न समस्या पर्दै आएको छ । सुदूर पश्चिमका पहाडी जिल्लाको यो पीडा कहिले सम्बोधन होला ? आज खाद्य दिवस मनाई रहँदा दिवस मनाउने निकायले एक पटक गम्भीर भएर सोच्नुपर्नेछ– कृषि प्रधान मुलुक नेपाल खाद्यान्नमा आत्मनिर्भर हुने कहिले ? कृषिप्रधान मुलुकको यो तीतो यथार्थको उत्तर खोज्न ढिलाइ नगरौँ ।
देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने हो भने साँच्चै नै अव मुलुकमा एक पटक फेरी कृषि क्रान्तिको आवश्यकता छ । त्यस्तो कृषि क्रान्ति जसले विदेशमा जस्तै खेती किसानी गर्ने किसानलाई सम्मान दिन सकोस् ।
किसानहरूपनि कृषि पेसा गरेर गर्वको अनुभूति गर्न सकुन् । देशलाई आत्मनिर्भर बनाउने हो भने खाद्यान्नबाट सुरुवात गरौँ । अव भारतबाट धान र चामल आयात गर्ने अवस्थाको अन्त्यका लागि उत्पादनमा ध्यान दिऔँ ।
देशको कूल गार्हस्थ्य उत्पादनमा करिब २० प्रतिशतको योगदान दिने कृषि क्षेत्रलाई सम्मानित पेसा बनाउनेतर्फ राज्यका हरेक निकायको ध्यान जाओस् ।