© २०२३
लमही, ३० असोज ।
देउखुरीका खेतमा यति बेला धान पाकेका छन् । किसानहरू भित्र्याउने हतारोमा छन् । कतै रिपरको आवाज गुन्जिन्छ, कतै थ्रेसरको घन्को सुनिन्छ, सबैतिर व्यस्तता छ ।
देउखुरीका किसानका खेतमा अहिले मेसिनले धान काटिरहेको दृश्य सहजै देख्न सकिन्छ । परम्परागत रूपमा हाते हँसियाले काटिने धान आजकल रिपु मेसिनले छिटो र सजिलै काट्न थालेको छ । यान्त्रीकरणले कृषि कार्यमा नयाँ युग ल्याएको किसानहरूको अनुभव छ ।
अब न धान रोप्दा महिना दिनसम्म हिलोमा गाडिनु पर्छ, न काट्दा घाम ताप्नु वा खुट्टा कुहाउनु पर्ने झन्झट छ । दाइ लगाउने काम पनि मेसिनकै सहायतामा छिटो सकिन्छ ।
लमही–५ का किसान रामु चौधरी भन्छन्, “पहिले एक बिघा धान काट्न चार–पाँच जना मजदुरलाई दुई दिन लाग्थ्यो, अहिले रिपरले एक घण्टामै सकिन्छ ।” उनका अनुसार मेसिनले समय र श्रम दुवै बचत गरिदिएको छ ।
कृषि ज्ञान केन्द्रका अनुसार पछिल्ला वर्षहरूमा देउखुरीका गाउँ गाउँमा धान, गहुँ र मकैमा यान्त्रीकरणको प्रयोग तीव्र रूपमा बढेको छ ।
रिपु, ट्रान्सप्लान्टर (धान रोप्ने मेसिन) र थ्रेसरको प्रयोगले किसानहरू उत्पादनमा बढी केन्द्रित हुन थालेका छन् ।
तर, सबै किसान यान्त्रीकरणले ल्याएको परिवर्तनप्रति उत्साहित मात्र छैनन् । केही किसानहरूका मनमा एक प्रकारको बेचैनी पनि छ । खेती गर्ने हातहरू घट्दै छन्, युवापुस्ता विदेशतिर आकर्षित छन्, र खेतीयोग्य जमिन आवासीय क्षेत्रमा रूपान्तरण हुँदै छ ।
लमहीकै किसान नन्दा घर्ती भन्छिन्, “अब काम सजिलो छ, तर खेत गर्ने मानिस घट्दै गएका छन् । हाम्रा खेतहरू पनि बिस्तारै खुम्चिँदै छन् ।”विशेषज्ञहरूका अनुसार कृषि यान्त्रीकरणले उत्पादनमा वृद्धि र श्रमको दक्ष उपयोग ल्याउने भए पनि दीर्घकालीन रूपमा भूमिको संरक्षण र युवा पुस्तालाई खेतीप्रति आकर्षित गर्न नसकिए कृषि भविष्य चुनौतीपूर्ण बन्न सक्छ ।
देउखुरीका खेतहरूमा गुन्जिने रिपरको आवाज अहिले सहजता र सम्भावनाको प्रतीक बनेको छ । तर त्यस आवाजभित्र भविष्यको चुपचाप चिन्ता पनि लुकेको देखिन्छ ।