© २०२३
काठमाडौं :
नेपाल तेस्रो पटक विश्वकप खेल्ने पक्का भएको छ। नेपाली राष्ट्रिय क्रिकेट टिमले लगातार दोस्रो पटक टी-२० विश्वकपमा स्थान बनाएको हो।
सुपर सिक्सको खेलअन्तर्गत युएईले सामाओलाई पराजित गरेपछि नेपाल दुई खेल अगावै विश्वकपमा पुगेको हो। नेपालले आज ओमानसँग अन्तिम खेल शुक्रबार सामाओसँग खेल्नेछ।
ओमानको भूमिमा पुरानो इतिहास मेटाउँदै नेपालले अल अमेरतमा नेपाली क्रिकेटको एक नयाँ इतिहास लेखेको छ। सन् २०२४ मा १० वर्षपछि टी-२० विश्वकपमा स्थान बनाएको नेपालले लगातार दोस्रो पटक टी२० विश्वकपमा आफ्नो स्थान पक्का गरेको हो।
सन् २०१४ मा पारस खड्काको नेतृत्वमा नेपालले पहिलो पटक टी-२० विश्वकप खेलेको थियो। उनै पारस नेतृत्वको क्यानले लगातार दोस्रो पटक आफ्नो पछिल्लो पुस्ताले विश्वकप खेलेको हेर्नेछ।
विश्वकप छनोटका लागि नेपाली क्रिकेट टोलीले पछिल्लो केही महिनायता राम्रो तयारी गरिरहेको छ। नेपाली टिमले भारत प्रशिक्षण, अष्ट्रेलियाको टप एण्ड टी-२० सिरिज हुँदै ऐतिहासिक वेष्ट इन्डिजसँगको सिरिज खेल्यो। वेष्ट इन्डिज सिरिजमा २-१ ले सिरिज जित्दै युएईबाट सिधै ओमान पुगेको नेपाली टोलीले राम्रो लय समातेको छ।
पछिल्लो समयमा नेपाली क्रिकेटले स्वर्णिम समय बिताइरहेको छ भन्दा फरक पर्दैन। प्रशिक्षक मोन्टी देशाईको प्रशिक्षणमा दोस्रो पटक टी-२० विश्वकप खेलेको नेपाली क्रिकेट टोलीले हालः अष्ट्रेलियन प्रशिक्षक स्टुअर्ट लको प्रशिक्षणमा तेस्रोपटक विश्वकप खेल्ने भएको छ।
प्रशिक्षक ल नेपालको प्रशिक्षक नियुक्त भएपछि उनको एउटा टिप्पणी निकै भाइरल भयो, ‘मलाई हारेको मन पर्दैन।’ सायद उनले अष्ट्रेलियन क्रिकेटबाट ल्याएको क्रिकेटिङ कल्चरको छबि उनको बोलीमा थियो। कम बोल्ने तर प्रशिक्षणमा खेलाडी छनोटदेखि मैदानमा उनको रणनीतिले नेपाली टोलीले हालः राम्रो इतिहास बनाइरहेको छ।
नेपाली टोलीले उनको नेतृत्वमा पहिलो पटक टेस्ट मान्यता पाएको राष्ट्रसँग सिरिज खेलेको थियो। त्यो सिरिजमा पनि नेपालले २-१ को जित उनको रणनीतिको गतिलो परीक्षा र परीक्षाको राम्रो नतिजा पनि थियो।
सर्वाधिक सफल कप्तान रोहित
सन् २०२३ मा १९औं एसियन गेम्समा नेपालका लागि २१ वर्षीय रोहितकुमार पौडेलले पहिलो पटक नेपाली राष्ट्रिय टिमको टी-२० अन्तर्राष्ट्रियको कप्तानी सम्हालेका थिए। कप्तानको रूपमा उनी हालसम्मकै सर्वाधिक सफल पनि भए। पछिल्लो ४ वटा कप्तानहरूसँग तुलना गर्ने हो भने उनको कप्तानीमा टिमले सर्वाधिक सफलता पाइरहेको छ। सन् २०२४ मा भएको टी-२० विश्वकपमा सबैभन्दा सानो कप्तानको रूपमा टिमको नेतृत्व गर्ने कप्तानको छबि बनाएका रोहितले नेपाललाई दोस्रो पटक विश्वकपमा नेतृत्व गर्नेछन्।
जारी आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटअन्तर्गत उनले आफ्नो कप्तानीमा ५०औं खेल खेले। त्यो पनि जीतसहित नेपाललाई लिड गरे। नेपालले रोहितको कप्तानीमा हालसम्म ५३ वटा खेल खेल खेलेको छ। जसमा ३० जित दर्ता गरेको छ।
सन् २०२३ मा मूलपानी मैदानमा भएको आइसीसी टी-२० विश्वकप छनोटको सेमिफाइनलमा युएईलाई ८ विकेटले हराउँदै नेपालले २०२४ को विश्वकपमा स्थान बनाएको थियो। रोहितले नेपालबाट बिदा हुँदै गर्दा भनेका थिए, ‘हाम्रो मुख्य लक्ष्य टी-२० विश्वकप छनोट हो।’
फिल्डिङ र बलिङ जितको आधार
नेपाली क्रिकेट टिमले जारी प्रतियोगितामा देखाएको सबैभन्दा बलियो पक्ष बलिङ र फिल्डिङ रह्यो। नेपालले प्रतियोगितामा जितेको ४ खेलमा चारै खेलको जितको आधार नेपालको फिल्डिङ र बलिङ बन्यो। ब्याटिङमा कुनै पनि ब्याटरको प्रशंसनीय प्रर्दशन रहेन। हालसम्म प्रतियोगिता अवधिभर कुवेतविरुद्धको पहिलो खेलमा कुशल भुर्तेलले ६६ रन बनाए। युएईविरुद्ध आसिफ शेखले ५१ रनको पारी खेले। कतारविरुद्ध रोहित पौडेलले ५८ रनको पारी खेले। त्यसबाहेक गुल्सनले आफ्नो रोल निभाएका छन्। उनले तल्लो क्रममा आएर आक्रामक पारी खेल्छन्। त्यो उनको टिमलाई आवश्यक परेको बेलाको रोल त्यही नै हो।
कतारविरुद्ध रोहितको साथ दीपेन्द्र सिंह ऐरीले पनि राम्रो दिए। त्यही एक खेलमा दीपेन्द्रको ब्याटिङ यादगार भयो। नेपालका लागि ओपनिङमा कुशल भुर्तेल र आसिफ शेखको विकल्प हालको लागि छैन। यी दुई ब्याटरले नेपाललाई प्रायः खेलमा राम्रो सुरुवात नै दिइरहेका हुन्छन्। ओमानको पिचमा कुशल आक्रामक खेल्न मन पराउँछन् भने आसिफले इनिङ सम्हाल्दै खेल्ने जिम्मेवारी निभाएको पाइयो।
हालसम्मको खेलमा कुशल मल्लको जुन किसिमको आक्रामक स्वभावको ब्याटिङ हो, त्यो देखिएको छैन। उनलाई टिममा राख्नुको मुख्य कारण उनको आक्रामक ब्याटिङ नै हो। तर, त्यसमा पछिल्लो समय उनी फर्ममा छैनन्।
फिल्डिङमा नेपाल उत्कृष्ट छ। विशेषतः दीपेन्द्र सिंह ऐरीको ‘डाइरेक्ट हिट’ले यो प्रतियोगिता अवधिभर चर्चा कमायो। खेलको मोमेन्टम् गुमिसक्दा नेपालको कमब्याकको आधारमा नै बलिङ र फिल्डिङ बनिरहेको छ।
नेपालको ब्याटिङ १० ओभर अगाडि हेर्न लायक हुन्छ। बलिङ र फिल्डिङमा नेपाल १० ओभरपछि कमब्याक गर्छ। ब्याटिङमा मिडल अर्डर नचल्दा बलिङमा पावरप्लेपछिको खेल आकर्षक हुन्छ।
‘कार्डियाक किड’
पछिल्लो समय नेपाललाई विश्व क्रिकेटले दिएको उपनाम हो, कार्डियाक किड। यसको अर्थ खेलमा अप्रत्याशित र नाटकीय जित निकाल्ने भन्ने अर्थ लाग्छ। नेपालको पछिल्लो २ खेलले नेपाल कार्डियाक किड नै हो भन्ने प्रमाणित गरिरहेका छन्।
अन्तिम ओभर अझ अन्तिम बलमा समेत नतिजा आफ्नोतर्फ बनाउन सक्ने टिम हो, नेपाल। सुपर सिक्सको पहिलो खेलमा नेपालले युएईविरुद्ध खेलेको खेललाई कसरी नाटकीय नभन्नु। अन्तिम ओभरमा ३ बलमा ३ रन चाहिएको अवस्थामा आक्रामक खेलिरहेका ध्रुव परासर १७ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै १९.४ मा दीपेन्द्र सिंह ऐरीको बलमा सन्दीप जोराको हातमा क्याच भए। १९.५ मा हैदर अलि रन आउट भए। नेपालले दिएको १४१ रनको विजयी लक्ष्य पछ्याएको युएई निर्धारित २० ओभरमा १३९ रन मात्रै बनाउन सक्यो।
नेपालले खेलेको सुपर सिक्सअन्तर्गतको दोस्रो खेलमा कतारलाई नेपालले ५ रनले पराजित गर्यो। जसमा नेपालका लेग स्पिनर सन्दीप लामीछाने चम्किए। नेपालले दिएको १४८ को विजयी लक्ष्य पछ्याएको कतारले १९ ओभरको खेल सकिँदा १३८ रन बनाएर ८ विकेट गुमाएको थियो। अन्तिम ओभर बलिङ गर्न सन्दीप लामिछानेलाई बल थमाइयो। अन्तिम ओभरमा ९ रन बचाउनुपर्ने अवस्थामा अन्तिम ओभरमा सन्दीपले ३ रन खर्चिएर २ विकेट लिँदै कतारलाई १४२ मा अलआउट बनाउँदै नेपालले खेल जिताए।