Butwal Today

जेनजी आन्दोलनका क्रममा बेपत्ता भएका थुक्तेन अझै भेटिएनन्

२९ आश्विन २०८२, बुधबार
अ+
अ-

काठमान्डौ, २९ असोज ।

नाम्खा गाउँपालिका–३ खगालगाउँका २४ वर्षीय थुक्तेन पाल्वर लामा करिब एक महिनादेखि बेपत्ता भएका छन् । परिवारका अनुसार उनी गत भदौ २३ र २४ गते काठमाडौँमा भएका जेनजी आन्दोलनका क्रममा हराएका हुन् ।

थुक्तेन काठमाडौँको तीनचुलीमा बस्दै आएका थिए । नारायणथान गुम्बामा लामाको ज्ञान अध्ययन पूरा गरी एक वर्षअघि भतिजासँगै बस्न थालेका उनी आन्दोलनपछि अचानक सम्पर्कविहीन भएका हुन् ।

थुक्तेनका बुबा टैछिरिङ लामाका अनुसार भदौ २३ गतेको आन्दोलनमा सहभागी भएपछि छोरा सकुशल कोठा फर्किएका थिए । तर भोलिपल्ट, अर्थात् भदौ २४ गते बिहान कोठाबाट निस्किएपछि उनी कहिल्यै फिर्ता आएनन् । बेपत्ता छोराको खोजीका लागि उनले सम्बन्धित निकाय र सर्वसाधारण सबैलाई सहयोग गर्न आग्रह गरेका छन् ।

थुक्तेन पाल्वर लामा परिवारका कान्छा छोरा हुन् । बेपत्ता भएको लामो समय बितिसक्दा पनि उनी कहाँ र कस्तो अवस्थामा छन् भन्ने यकिन जानकारी नआउँदा परिवारमा गहिरो चिन्ता र बेचैनी छाएको छ ।