Butwal Today

नेपाल एयरलाइन्सको अक्टोबर १९ को काठमाडौँ—ग्वाञ्जाओ उडान रद्द

२८ आश्विन २०८२, मंगलवार
अ+
अ-

काठमान्डौ, २८ असोज ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)  ले अक्टोबर १९ का लागि निर्धारित काठमाडौँ–ग्वाञ्जाओ उडान रद्द गरिएको जनाएको छ ।

निगमका प्रवक्ता सुवास डाँगीले सोमबार जारी विज्ञप्तिमा नियमित उडान तालिकाबमोजिम उक्त उडान निगमको आन्तरिक कारणले रद्द गरिएको जानकारी दिएका छन् । उनले भने, “उक्त उडानको सम्पूर्ण यात्रुलाई वैकल्पिक व्यवस्थाबाट व्यवस्थापन गरिएको छ ।”

स्रोतका अनुसार काठमाडौँ–ग्वाञ्जाओ–काठमाडौँ सेक्टर अन्तर्गत १६ अक्टोबरको काठमाडौँ–ग्वाञ्जाओ उडानमा ६८ र १७ अक्टोबरको ग्वाञ्जाओ–काठमाडौँ उडानमा ४१ यात्रुको टिकट बिक्री भइसकेको थियो । २३ अक्टोबरको काठमाडौँ–ग्वाञ्जाओ र २४ अक्टोबरको ग्वाञ्जाओ–काठमाडौँ उडानमा क्रमशः ९३ र २० टिकट बिक्री भइसकेको छ ।

निगमले केही सञ्चारमाध्यममा उडान यात्रु सङ्ख्या कम भएर रद्द भएको समाचारप्रति ध्यानाकर्षण गराउँदै ग्वाञ्जाओ नयाँ गन्तव्य भएको र पूर्ण प्रचारप्रसार नभएको कारण टिकट बुकिङ अझै बढ्ने क्रम जारी रहेको जानकारी दिए ।

नेपाल एयरलाइन्सले यस गन्तव्यको प्रचारप्रसारमा सञ्चारमाध्यम र सबै सरोकारवालालाई सहयोग गर्न आग्रह गरेको छ ।