Butwal Today

देउवालाई शशांकको सुझाव- केन्द्रीय समिति भंग गरेर कार्यवाहक सभापति तोक्नुस्

२५ आश्विन २०८२, शनिबार
अ+
अ-

काठमाडौं ।

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले सभापति शेरबहादुर देउवालाई केन्द्रीय समिति भंग गर्न सुझाव दिएका छन्।

पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा सहभागी हुन सानेपा पुगेका कोइरालाले सभापति देउवालाई केन्द्रीय समिति भंग गरेर कार्यवाहक तोक्न सुझाए।

उनले भने, ‘विशेष महाधिवेशन होइन अब नियमित महाधिवेशन गर्नु पर्छ । मैले शेरबहादुरजीलाई यो समिति विघटन गर्नुस् एक जनालाई कार्यवहाक सभापति दिनुस्। उनले गठन गर्दछन्। महाधिवेशनको मिति तय गर्दछन्।’

उनले अहिलेको समस्या समाधान गर्नको चुनावको विकल्प नभएकाले त्यसलाई नकार्न नसकिने बताए।

उनले अगाडि भने, ‘चुनावमा त जानुपनैपर्छ, लोकतान्त्रिक पार्टी भएकाले चुनावमा भाग नलिने भन्ने हुँदैन। त्यसैले अरू दलहरूसँग मिलेर एउटा बाटो लिनुपर्छ भन्ने सुझाव आएको छ। संसद् पुनःस्थापनाको कुरा त कानुनी भयो। तर समस्या समाधानको लागि त चुनाव नै चाहिन्छ। शान्ति स्थापनाको लागि सरकारलाई आग्रह गर्छौँ, निष्पक्ष र धाँधलीरहित चुनाव हुनुपर्छ।’