Butwal Today

कफी धेरै फलाउन कफीको कैफियत जाँचन

२४ आश्विन २०८२, शुक्रबार
अ+
अ-

गुल्मी, २४ असोज ।

कफी खेतीका लागि नेपालमै पहिलो जिल्लाको रूपमा गुल्मीलाई मानिन्छ । यहाँका किसानहरू कफी खेतीतिर आकर्षित बन्दै गएको पाइएको छ ।

मुसिकोट नगरपालिका–५ स्थित कफी विकास केन्द्र आँप चौरमा कफीका बिरुवाको माग धेरै आउने गरेको छ । तर माग अनुसार ५० प्रतिशत पनि बिरुवा उपलब्ध गराउन कार्यालयले सकेको छैन ।

आँप चौरमा स्थापना भएको कफी विकास केन्द्रले कफीका बिरुवा उत्पादन गर्नुका साथै बिक्री वितरण समेत गर्दै आएको छ । यहाँ उत्पादित बिरुवा राम्रो गुणस्तरको हुने भएका कारण गुल्मी सहित अर्घाखाँची, कास्की, स्याङ्जा, लमजुङ, धादिङ, लगायत ४० भन्दा बढी जिल्लाहरूबाट कफीका बिरुवाको माग हुँदै आएको छ ।

बिरुवाको माग धेरै भए पनि आवश्यक स्रोत र जनशक्तिको अभावका कारण माग अनुसार केन्द्रले बिरुवा उत्पादन गर्न सकिरहेको अवस्था छैन ।
मुसिकोट नगरपालिका–५ अन्तरगत आँप चौरमा रहेको कफी विकास केन्द्र नेपाल सरकारको सङ्घीय बागवानी तथा राष्ट्रिय बीउ बेर्नाको श्रोत केन्द्र पनि हो ।

तत्कालीन स्व. राजा वीरेन्द्रले बि.स. २०४१ सालमा कफी विकास केन्द्र स्थापना गरेसँगै गुल्मीमा व्यावसायिक रूपमा कफी खेती गर्न थालिएको हो ।
कफी विकास केन्द्रमा उत्पादन गरिएको प्रति बिरुवा यस पटक ४० रुपैयाँमा बिक्री भएको थियो ।

कफी विकास केन्द्र आँपचौले बगैँचा व्यवस्थापन, बिउ उमार्ने, टिप्ने र प्रशोधन लगायतका कामहरू गर्ने गर्दछ । केन्द्रमा कफी पल्पिङ मेसिन, कफी हलर मेसिन, कफी ड्रायर, रोस्टर मेसिन र कफी स्प्रेसो मेसिन समेत उपलब्ध छन् ।

आपचौरमा १८४ रोपनी जग्गा खरिद गरेर करिब १२ हजार कफीका बिरुवा रोपण गरेको छ । कफीको जननी आँप चौरमा कफी बगैँचा बिस्तार गर्ने उद्देश्यले अहिले छ वटा नर्सरीमा करिब ६० हजार कफीका बिरुवा रोपण गरिसकिएको कार्यालय प्रमुख राहुल पाण्डे बताए ।

पछिल्लो समयमा कफीमा लाग्ने सेतो गँबारो कृषकहरूका लागि मुख्य समस्या र चुनौतीको विषय बनेको उनको भनाइ छ । सेतो गँबारोका कारण जिल्लामा १५ प्रतिशत कफीका बोटहरू नष्ट हुने अवस्थामा छ ।

कफी विकास केन्द्र आँप चौरमा अहिले दश हेक्टर क्षेत्रफलमा कफी खेती गरिएको छ । जिल्लामा अहिले करिब तीन सय हेक्टर क्षेत्रफलमा कफी खेती गरिदैं आएको छ ।

गुल्मीमा कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजना, कफी विकास केन्द्र आँप चौर, कफी अनुसन्धान कार्यक्रम भण्डारी डाँडा लगायत स्थानीय तहले समेत कफी खेतीको क्षेत्रमा काम गर्दै आइरहेका छन् ।

कफीको जातीय परीक्षण:

गुल्मीमा पहिलो पटक ३८ जातमा कफीको जातीय परीक्षण सुरु गरिएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिकामा रहेको कफी अनुसन्धान कार्यक्रमले त्यसका लागि प्राङ्गारिक प्रविधिद्वारा ३८ जातमा कफीको जातीय प्रशिक्षण गरिरहेको जनाएको छ ।

 

कफी अनुसन्धान कार्यक्रम गुल्मीका प्रमुख एवं वरिष्ठ वैज्ञानिक जनार्दन गौतमले दुई सय रोपनी क्षेत्रफलमा फैलिएको अनुसन्धान कार्यक्रममा जातीय परीक्षण भइरहेको बताए । नेपालमा हालसम्म कुनै पनि कफीका जातहरू सिफारिस नभएको कार्यालय प्रमुख गौतमले बताएका छन् ।

अनुसन्धान कार्यक्रम मार्फत कफीका तीन वटा जात सिफारिसका लागि बीउ विजन तथा गुणस्तर नियन्त्रण केन्द्रमा प्रस्तावकता तयार गरि पेस गरेको बताइएको छ । त्यसका अतिरिक्त कफीका अरू जातीय तथा रोग किरा व्यवस्थापन परीक्षणका कामहरू भइरहेको छ ।

गौतमका अनुसार कफीको माउ बोट, त्यसको हा“गा, बिउ छनोट गरी बिउ अनुसारको माटो, बिरुवा, उत्पादन र गुणस्तरसम्म सबै अनुसन्धान गर्न कार्यालयमा अझै दक्ष जनशक्तिको अभाव रहेको छ ।

अनुसन्धान कार्यक्रममा वार्षिक १० हजार भन्दा बढी कफीका बीउ बेर्ना उत्पादन गर्नुका साथै एक सय किलोसम्म कफीको श्रोत बीउ उत्पादन गरि वितरण भइरहेको कार्यालय प्रमुख गौतमले बताए । गुल्मीको कफीको बीउ बेर्ना पूर्वको इलामदेखि पश्चिमको दैलेखसम्म पुग्ने गरेको छ ।

अनुसन्धान कार्यक्रमले कफी बालीमा मल खाद व्यवस्थापन परीक्षण, छहारी व्यवस्थापन, कफी रोप्ने तरिका, सेतो गँबारो तथा अन्य रोग किरा व्यवस्थापन सम्बन्धी परीक्षणका साथै कफीको गुणस्तरको बारेमा अध्ययन अनुसन्धान गर्दै आईरहेको छ ।

पछिल्लो समयमा जिल्लामा कफी बिउको माग बढी आउने गरेको छ । यस वर्ष तीन सय किलो बिउको माग आएको भए पनि गत वर्ष जम्मा एक सय केजी मात्र कफीको बीउ उत्पादन भएको थियो । उत्पादन कम हुँदा कार्यालयबाट माग अनुसारको बिउ उपलब्ध हुन सकेको छैन ।

पर्याप्त जग्गा र आवश्यक जनशक्तिको अभाव यसको मुख्य कारण रहेको कार्यालयले जनाएको छ । अनुसन्धान कार्यक्रम परिसरमा हाल ३८ जातका कुल चार हजार कफीका बिरुवाहरू रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?